इटहरी : सुनसरीको इटहरीमा प्रदेश १ स्तरीय घरेलु तथा साना उद्योग कार्यालयको उद्घाटन भएको छ ।
कार्यालयको उद्घाटन उद्योग, पर्यटन वन तथा वातावरण प्रदेश १ का मन्त्री जगदीश कुश्यतले गरेका थिए । विगतदेखि सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यलयलाई नै प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रलय अन्र्तगत प्रदेशस्तरीय कार्यालयको रुपमा रुपमान्तरण गरिएको हो । मुलुक संघीयतामा परिवर्तन भईसकेपछि बिभिन्न सरकारी कार्यालयहरु प्रादेशिक कार्यालयमा परिवर्तन हुदै गई रहेको छ । त्यसैले सेवाग्राहीको सहजताको लागि घरेलु तथा साना उद्योग कार्यालयलाई पनि परिवर्तन गरिएको हो ।

यो कार्यालयले नयाँ साना उद्योग दर्ता गर्ने देखि अनुगमन पनि गर्ने गरेको छ । यस बर्ष कार्यालयले उद्योगतर्फ ५ सय ५६ वटा उद्योग दर्ता गरेको छ भने वाणिज्यतर्फ ७ सय ७२ वटा फर्म दर्ता गरेको कार्यालयले जनाएको छ । गत बर्ष मात्र कार्यालयले १ करोड ९३ लाख राजश्व संकलन गरेको थियो भने नवीकरणको समस्या भएको कारण कम राजश्व संकलन भएको कार्यालय प्रमुख मोहिनारायण साहले बताए । कार्यक्रममा बोल्दै साहले अब अझ शसक्त भएर कार्यलय अघि बढ्ने बताए । सोही कार्यक्रममा कार्यालय रहेको जग्गा दाता सुरेन्द्र बहादुर कार्कीलाई कार्यक्रमका प्रमुख अतिथीले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, प्रदेश संसद शर्वध्वज सावाँ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्रकेशरी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।