धरान: यसपाली तिहारको लागि नेपालमै प्रशस्त सयपत्री फूल उत्पादन भएको छ । विगतका बर्षहरुमा फूल उत्पादन कम हुदा भारतीय फूल आयातले नेपाली बजार ओगट्ने गथ्र्यो ।

पहाडी जिल्लाहरुमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको व्यावसायिक खेती शुरुवात भएकोले पनि तिहारमा प्रशस्त फूल पाइएको हो । फूल उत्पादनमा वृद्धि भएसंगै उपभोक्ताहरुले यसपाली सुपथ मुल्यमा सयपत्री फूल पाएका छन् । धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार अहिले प्रतिमुठा सयपत्री फूल १० देखि २५ रुपैयामा थोकमा खरीदबिक्री भइरहेको छ । गत बर्ष यसको मुल्य कम्तीमा ५० रुपैया थियो । ‘यसपाली सबैतिर फूल फुलेको छ, त्यसैले बजारमा पनि प्रशस्तै फूल आएको छ,’बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराईले भने,‘उपभोक्ताहरुले सस्तोमा फूल पाइराखेका छन् ।’ सयपत्रीसँगै गोदावरी र मखमली फूल पनि कृर्षि बजारमा आएको उनले बताए । 

DSC06867 copy

व्यवस्थापक भटराईका अनुसार धनकुटा जिल्लामा उन्नत जातको सयपत्री फूलको खेती भएको छ भने तेह्रथुम, मोरङको उत्तरी क्षेत्र र भोजपुरको पुर्वीदक्षिणी भेगबाट पनि कृर्षि बजारमा फूल आएको छ । सयपत्री, मखमली र गोदावरी फूलहरु पनि बिक्रीको लागि आएको छ । यसपाली प्रशस्त फूल उत्पादन भएकोले भारतीय फूल र कृत्रिम फूलहरुले बजार नओगट्ने व्यवस्थापक भटराईको भनाई छ । ‘पहिलाको जस्तो भारतबाट फूल मगाईरहनु पर्ने अवस्था छैन, नेपालमै प्रशस्त फूल फुलेको छ,’उनले भने,‘फूलको व्यावसायिक खेती पनि शुरु भएको छ, यो सुखद पक्ष हो ।’

कृषि बजार ब्यबस्थापन समितिका अनुसार गत आर्थिक बर्षमा २ सय २५ मेट्रिक टन फूलको कारोबार भएको थियो । जसको मुल्य हिसाब गर्दा २ करोड २५ लाख बराबर हुन आउछ । गत बर्ष ५० प्रतिशत मात्र फूलको भाग आन्तरिक उत्पादनले धानेको थियो । बाकी माग भारतीय फूलले धानेको थियो । यसको अर्थ एक करोड बढी नेपाली रुपैया विदेशिएको थियो । तर, यो बर्ष ९० प्रतिशत भन्दा बढी फूलको माग स्वदेशी उत्पादनले धान्ने व्यवस्थापक भटराई बताउछन् । यो बर्ष ५ सय मेट्रिक टन फूलको कारोबार हुने अनुमान छ । जसको मुल्य ३ करोड बराबर हुन आउछ ।

DSC06856 copy

DSC06874 copy