एजेन्सी : कमजोर आँकिएको रेड स्टार बेलग्रेडको घरेलु मैदानमा २/० ले पराजित भएसँगै इंग्लिस क्लब लिभरपुलको यूईएफए च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुग्ने लक्ष्यमा धक्का पुगेको छ । फरवार्ड मिलान पाभ्कोभले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई २/० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाबमा राखेको रेड स्टारले अग्रता लिनु अघि पनि गोल गर्ने दुई सुवर्ण अवसर गुमाएको थियो । भुज्दान साभिच र एल फार्दु बेनले अग्रता दिलाउन चुकेका थिए । ड्यानीएल स्टरिजले ६ यार्डबाट गोल गर्न नसक्दा लिभरपुलले पनि १७ औं मिनेटमा अगाडी बढ्न चुक्यो । पाभ्कोभले २२ औं र २९ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा ८० प्रतिशत बल पोसेसन राखेको लिभरपुलले गोल फर्काउन भने सकेन । लिभरपुलको दुई प्रहार पोस्टमा लगेर फर्केको थियो । यता रेड स्टारले भने पछिल्ला १५ घरेलु खेलमा १० औं क्लिन सिट राख्न सफल रहयो । लिभरपुलले जारी सिजनको च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको हो । पछिल्लो तीन खेलमा दुई हार बेहोरेको लिभरपुलले त्यसअघिका ११ खेलमा २ हार बेहोरेको थियो ।यस नतिजाले समूहको समीकरणमा भने उथलपुथल नै सिर्जना गरेको छ । शीर्षस्थानमा रहेको नेपोलीको ४ खेलमा ६ अंक छ । समान अंक बोकेको लिभरपुल हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ ।

पीएसजीले ४ खेलमा ५ अंक जोडेको छ भने रेड स्टार ४ खेलमा ४ अंक सहित पुछारमा छ । अब लिभरपुलले अन्तिम दुई खेलमा पीएसजी र नेपोलीको सामना गर्नेछ ।

 

"हाम्रो खेलकुदबाट साभार गरिएको "