धरान: घाँटीको उपचार गराउन थाइल्याण्ड गएका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका पुगेका छन् ।

कार्तिक १६ गते निजी खर्चमा उपचार गराउन थाइल्याण्ड गएका मुख्यमन्त्री राई त्यहाँबाट उपचार पश्चात अमेरिका गएका हुन् । मुख्यमन्त्री राई ६ नोभेम्बर(मंगलबार)मा अमेरिका पुगेको समाचार अनलाईन मिडियामा आएको छ । सार्वजनिकडटकमलाई मुख्यमन्त्रीका स्वकीय सचिवले बताए अनुसार थाइल्याण्डमा चिकित्सकसँग भेट गरेपछि केही समय बाँकी रहेकाले निजी भेटघाटको लागि मुख्यमन्त्री अमेरिका पुगेका हुन् ।

cmsamman1 copy

मुख्यमन्त्री राईलाई थाइल्याण्डमा उपचार गराउन जानको लागि प्रदेश मन्त्रीपरिषदले स्वीकृति दिएको थियो । तर, उनी स्वीकृति विना नै अमेरिका गएको पनि समाचारमा उल्लेख छ । मंगलबार अमेरिकाको न्युयोर्कमा मुख्यमन्त्री राईलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले सम्मान गरेको बताइएको छ । उनी कार्तिक २४ गते स्वदेश फर्कने गरी थाइल्याण्ड उपचारमा गएका थिए । उनलाई विगत २ बर्षदेखि घाटीमा समस्या भइरहेको थियो । स्वदेशका विभिन्न अस्पतालमा उपचार गराउदा नि समस्या कम नभएपछि थप उपचारको लागि मुख्यमन्त्री राई थाइल्याण्ड गएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले प्रेस नोट जारी गर्दै जानकारी दिएका थिए ।

तस्बिर स्रोत:सार्वजनिकडटकम