धरान: उदयपुरको बेलाका नगरपालिका ८ स्थित बोप्ताङमा प्याराग्लाइडिङको आधारभुत प्रशिक्षण केन्द्र(स्कुल) उदयपुरको शुरु भएको छ ।

तिहारको लक्ष्मी पूजाको दिन बेलका नगरपालिकाका मेयर दुर्गाबहादुर थापाले वोप्ताङ डाँडामा प्याराग्याइडिङको प्रशिक्षण केन्द्रको उद्घाटन गरेका थिए । उनलाई नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ एशोसिएशन(नेफा)का प्रशिक्षक सुरेन गुरुङले डाँडाबाट उडाएका थिए । वोप्ताङ डाँडामा टेक अफ भएको प्याराग्लाइडिङको ल्याण्डिङ सप्तकोशी किनारस्थित सिसौली चौरमा रहेको छ । यो प्रशिक्षण केन्द्र बेलका नगरपालिका र नेफाको सहकार्यमा सञ्चालनमा आएको हो । स्कुलको लागि धरानको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले प्राविधिकरुपमा सहयोग तथा व्यवस्थापन गरिरहेको छ ।

aIMG_6775

यो प्याराग्लाइडिङ स्कुल नेपालकै तेस्रो हो भने प्रदेश नं १ को पहिलो हो । यसअघि, बाबु एडभेञ्चरले स्याङ्जाको शिरकोटमा र पोखराको ब्लु स्काईले तनहुँको बन्दीपुरमा मात्र प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेको थियो । पोखरा पछि प्याराग्लाइडिङको व्यावसायिक उडान धरानले गरेपनि प्रशिक्षण केन्द्र भने सञ्चालनको प्रयास हुदा पनि शुरुवात गर्न सकेन । प्रशिक्षण केन्द्रमा अहिले सोलो पाइलटको लागि ६ जनाले प्रशिक्षण शुरु गरेका छन् । जसमा ३ जना पोखराबाट, पाल्पाबाट १ जना धरानबाट १ जना र बेलकाबाट १ जना छन् । यसपछि थप ८ जना बेलकाका युवाहरुलाई प्रशिक्षण दिइने बुढासुब्बा प्रालिका अध्यक्ष लेखमणी जिमीले बताए ।

उनका अनुसार यहाँ अन्य ठाउँको भन्दा सस्तो मुल्यमा पाइलट प्रशिक्षण दिइनेछ । यसले पाइलट अभावलाई पुर्ति गर्नेछ भने धेरै भन्दा धेरै प्याराग्लाइडिङको सम्भावनाको पनि खोजी हुने उनले बताए । ‘अरुतिर यो कोर्ष अढाई लाख खर्च लाग्छ, यहाँ हामीले होस्टलसहित डेढ लाखमा उपलब्ध गराइरहेका छौं,’उनले भने । अहिले प्रशिक्षार्थीहरुलाई नेफाका प्रशिक्षक गुरुङ र बेलायती पिट ग्लेगारले प्रशिक्षण दिइरहेका छन । बेसिक कोर्ष १५ दिनको हो । यो कोर्ष लिएपछि २ बर्षमा सोलो पाइलटले टेण्डम कोर्ष गरेर व्यावसायिक उडान गर्न सक्छ ।

पर्यटन विकासको लागि प्याराग्लाइडिङ विकासमा आफुले सहकार्य गरेको र थप पर्यटनको सम्भावना खोजी गर्ने बेलकाका मेयर दुर्गा थापाको भनाई छ । ‘प्याराग्लाइडिङसँगै यहाँको अन्य पर्यटनको सम्भावनालाई खोजी गर्दैछौं । स्कुल सञ्चालन गरेपछि यहाँ देशभरबाट सिक्न आउछन्, यसले यो ठाउँको प्रचार प्रसार हुन्छ, र आर्थिक गतिविधि पनि बढ्छ,’उनले भने,‘यहाँका युवाहरुलाई यो कोर्ष गर्न ५० हजार पनि नगरपालिकाले दिएका छौं ।’

aIMG_6779

aIMG_6799

aIMG_6780

aIMG_6808

aIMG_6810

aIMG_6834

aIMG_20181107_122215

aIMG_6820 copy