धरान: उपचार गराउन थाइल्याण्ड गएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उतैबाट अमेरिका पुगेका थिए । निजी भ्रमण एवं भेटघाटको लागि अमेरिका पुगेका भनिएका मुख्यमन्त्री राई अहिले विवादमा तानिएका छन् ।

अमेरिकाको न्युयोर्कमा समाचार लेखेको बिषयमा पत्रकार लोकमणि राईलाई मुख्यमन्त्रीका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार आक्रमण गरेपछि मुख्यमन्त्री राई विवादमा तानिएका छन् । कार्यक्रम भइरहदा पत्रकार राईलाई एकछिन बाहिर हिड भन्दै कार्यक्रमस्थल बाहिर लगेर कुटपिट गरेको बताइएकोछ । मनपरी गाली गलौज गर्दै मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार भन्दै उमेशले अनुहारमा मुक्का हानेको बताइएको छ । एम्बुलेन्स मार्फत स्थानीय एलमहस्र्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको राईलाई ६ घण्टापछि राईलाई डिस्चार्ज गरिएको थियो ।
45750956_10215908985588795_6156288109270007808_o copy

पत्रकार राईले बिआरटी डटकम नामक न्युज पोर्टलमा मुख्यमन्त्री राई थाइल्याण्डबाट अमेरिका आएको र बिवादास्पद केही संस्था एवं व्यक्तिहरुले अमेरिकामा स्वागत कार्यक्रम गरेको समाचार लेखेका थिए । समाचारमा राष्ट्रसंघको महासभाको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधको प्रसंग उल्लेख गर्दै तिनै विरोधीहरु अहिले मुख्यमन्त्री राईको स्वागतमा लागिपरेको भन्दै दोहोरो भूमिका देखाएको उल्लेख गरिएको थियो ।

पीडित पत्रकार राईले कुटपिट भएको मेडिकल परीक्षणको प्रमाणसहित प्रहरीमा उजुरी दिएका छन् । जानकारहरुका अनुसार अमेरिकामा हातपातको घटनालाई गम्भीर मानिन्छ । पत्रकार राईलाई कुटपिटको घटनाको सर्वत्र विरोध पनि भइरहेको छ । नेपालमा रहदा लामो समय कान्तिपुर दैनिक, हिमाल मिडियालगायतमा आवद्ध भई राईले पत्रकारिता गरेका थिए । केही बर्षदेखि उनी अमेरिकामा रहदै आएका छन् । 

cmsamman1-copy 1