धरान: शुक्रबार हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको भाईटिका थियो । दिदी बहिनीले आफ्नो दाजुभाईको दीर्घायु, सुखशान्तिको कामना गर्दै निधारमा रातो टिका र सयपत्री,मखमलीको माला लगाइदिन्छन् ।

हिन्दु धर्मका कथा, देवीदेवताहरुलाई पुजिने भएकोले पनि तिहारलाई धार्मिक हिसाबले लिइन्छ । यसपाली प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउत(जो मुस्लिम हुन्)ले सामुहिक भाईटिका कार्यक्रममा टिका लगाएर चर्चा बटुले । तर, धरानमा एक यस्ता मुस्लिम युवा छन्, जो विगत २ दशकभन्दा बढी समयदेखि निरन्तर भाईटिका लगाउदै आएका छन् । मुस्लिम युवा धरानमा भने परिचित अनुहार हुन् । तर, उनको यो धार्मिक, सामाजिक सहिष्णुताको कार्यबारे भने धेरैलाई थाह छैन ।

45739872_1993347584051577_8832246708285997056_n

ती युवाको नाम हो, फिरोज अलि सिद्धिकी । उनी धरान वडा नं ३ मा ३६ बर्षअघि जन्मिएका हुन् । उनी राजनीतिमा पनि सक्रिय छन्, तर मुख्य पेशा भने कपडा सिलाई व्यावसाय हो । उनको रत्न रोडमा व्यावसाय छ । उनले सानो उमेरदेखि नै तिहारमा भाईटिका लगाउदै आएका छन् । फिरोजका अनुसार वडा ३ का कृष्ण शाहीकी छोरी मन्दिराको हातबाट उनले बर्षेनी भाइटिका लगाउछन् । उनले यसरी भाइटिका लगाउन थालेको २० बर्षभन्दा बढी बितिसकेको छ । मुस्लिम भएर किन भाईटिका लगाउनुहुन्छ ? कपुरीन्यूजको यो प्रश्नको जवाफ दिदै उनले भने,‘यो त नेपालीको पर्व हो नि, हिन्दुको भए त विश्वभरका हिन्दुहरुले मनाउथ्यो होला ।’ नेपालीको पर्व भएकोले नै आफुलगायत सबै नेपालीहरुले भाईटिका मनाएको उनको तर्क छ ।

भाईटिका लगाएको फोटो फेसबुकमा सार्वजनिक गरेपछि उनलाई बधाईसँगै प्रशंसाको ओइरो लागेको छ । कसैले उनको महान् विचार भएको प्रतिक्रिया दिएको छ भने कसैले तिहार हिन्दु धर्मको नभई नेपाली सँस्कृति भएको भनेका छन् । ‘फिरोज भाईको धार्मिक सद्भाव साह्रै राम्रो लाग्यो,’मितेरी विकास बैकका सिइओ तुलसीप्रसाद वस्तीले भनेका छन् । रोशन खत्री परियारले भनेका छन्,'तपाईको महानतालाई सलाम दाजु । सबै मान्छेहरुको धार्मिक सद्भाव यस्तै भैदिए न यहाँ जातीय द्धन्द हुन्छ, न धार्मिक द्धन्द नै हुन्छ ।'

45688930_1993347737384895_1468656920041619456_n copy 1

45702866_1993348194051516_103925525524774912_n copy

45743107_10216320418670635_5660703094388817920_n copy