धरान: सरकारको निर्णयअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा भएको जग्गा भोगाधिकार पाएको डिपोट हाईस्कुलले लिजमा दिएर फनपार्क बन्न लागेकोप्रति प्रतिष्ठानस्थित मेडिकल तथा डेन्टल शिक्षक कल्याण समाजले पनि मुख खोलेको छ ।

समाजले एक प्रेस विज्ञप्ती जारी गर्दै धरानमा व्यवस्थित फन पार्कको आवश्यकता भएपनि अस्पताल एवं विद्यालय जस्तो संवेदनशील क्षेत्रको हाताभित्र बनाउन नहुने समाजले स्पष्ट पारेको छ । समाज सिनेटबाट मान्यता प्राप्त बिपीका शिक्षक चिकित्सकहरुको एक मात्र आधिकारिक संगठन हो । समाजका महासचिव डा. मधुर बस्नेतले विज्ञप्ती जारी गर्दै विद्यालयको प्रयोजनको निम्ति भोगचलन गर्न मात्र अधिकार दिएको जग्गा प्रतिष्ठान हाताभित्र रहेको डिपोट स्कुलले प्रतिष्ठानको सहमति विना तेस्रो पक्षलाई फन पार्क निर्माणको निम्ति ३० बर्षे लिजमा दिएको घटनाप्रति समाजको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

‘विद्यालय एवं अस्पताल जस्तो संवेदनशील एवं शान्ति क्षेत्रको हाताभित्रै फन पार्क निर्माण कुनै पनि सभ्य र शिक्षित समाजको निम्ति सुहाउने कुरा होइन, यो स्वयम डिपोट स्कुलमा अध्ययनरत विद्यार्थीहरुको हित विपरीत छ, र यसमा उक्त स्कुलका अभिभावककोसमेत हस्तक्षेप जरुरत देखिन्छ,’विज्ञप्तीमा भनिएको छ ।

बिपी प्रतिष्ठान भविष्यमा दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने सम्भावना बोकेको प्रतिष्ठान विस्तार हुदै जादा अहिलेको जग्गा पनि अपुग हुने अवस्था रहने र यसकिसिमको अतिक्रमणले प्रतिष्ठानको विस्तारमा गम्भीर अवरोध पैदा हुने पनि विज्ञप्तीमा उल्लेख छ । ‘तसर्थ, यस समाज सम्बन्धित पक्षसँग तुरुन्त यस किसिमको कार्य रोक्न जोडदार माग गर्दछ,’विज्ञप्तीमा भनिएको छ,‘एवं बिपी प्रतिष्ठान, नेपाल सरकार, धरान उपमहानगरपालिका, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, मिडिया एवं सम्पुर्ण सरोकारवाला पक्षहरुसँग यसकिसिमको कार्य रोक्न प्रभावकारी कदम चाल्न हार्दिक अपिल गर्दछ ।’