ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बीपीका पूर्वउपकुलपतिले विद्यार्थीसँग मागे शुल्क” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा बीपी दासले प्रतिष्ठानमा अध्ययन गर्न आउने विद्यार्थीसँग प्रतिष्ठानमा अध्ययनका लागि नाम निकालिदिने भन्दै अतिरिक्त शुल्क माग्ने गरेको तथ्य बाहिर आएको छ । प्रतिष्ठानका प्राध्यापक दासले प्रतिष्ठानमा भर्ना हुन चाहने विद्यार्थीसँग प्रतिष्ठानमा बुझाउनु पर्ने शुल्क ५० हजार अमेरिकी डलर (५५ लाख रुपैयाँ) बाहेक अतिरिक्त शुल्कका लागि बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “दमकल ढिलो पुग्दा घर भष्म” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान वडा. ५ देवीगाउँको कुलुङ चौकमा आइतबार राती भएको आगलागीमा दमकल आउन ढिलो भएकोले घर पुरै जलेर भष्म भएको पीडितले गुनासो गरेका छन् । राती ९ बजेका समयमा भएको आगलागीमा एक घर जलेर भष्म भएको छ । आगोलागीबाट स्थानीय काले राई भनिने विशाल राईको घर जलेर नष्ट भएको हो ।


पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूर्वी बजार दैनिकले “अपाङ्गले इटहरीमा पढन् पाउँदैनन् ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  इटहरी–६ का मौलिक श्रेष्ठका लागि एक पटक भनेको कुनै पनि विषय दोहोर्याउनु पर्दैन । एक पटक देखेको मान्छे अर्को पटक उनलाई चिनाउनु पर्दैन । एक पटक पढेको कुरा अर्को पटक पढ्न पर्दैन तर उनका हातगोडा राम्रोसँग चल्र्दैनन् । १२ वर्षीय श्रेष्ठ अपाङ्ग भएकै कारण पढाइबाट वञ्चित भएका छन् । उनी बारम्बार स्कुल जान्छु भनेर बाबुआमासँग झगडा गर्छन ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “शहरमा फोहोरको डङ्गुर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठेकका पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारी आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा फोहोर थुप्रिएको छ । तिहार लगत्तै ठेकेदार कम्पनीका २ सय ५० मजदुर काम छाडेर आन्दोलनमा उत्रिएपछि सडकमा फोहोर थुप्रिएको हो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ दोस्रो दिन खरना मनाइयो झापामा छठ पर्वको तयारी पूरा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  खासगरी तराई मधेशमा मनाइने छठ पर्वको दोस्रो दिन सोमबार ’खरना’ मनाइएको छ । दिनभर ब्रतालु निर्जला व्रत बसे र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर अर्पण गरी सोही प्रसाद ग्रहण गरेका छन् । छठपर्वको मुख्य विधिअन्तर्गत पहिलो दिन चतुर्थी को विधिमा अरबा अरबाइन गरिन्छ, जसलाई नहाय खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “१३ वर्षिया युवतीको बलात्कार पछि हत्या पाँचजना आरोपी पक्राउ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उदयपुर र उदयपुरको रौतामाई गाँउपालिका –३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्कको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।