ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “खोला उत्खनन् सहमति विपरीत” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विर्तामोड: अर्जुनधारा नगरपालिकाले बुद्धशाान्ति गाँउपालिकासँग गरेको सहमति तोड्दै खोलाजन्य सामाग्री उत्खनन्का लागि क्षेत्र निर्धारण गरेको खुलेको छ । जयपुर र सिस्ने जोड्नका लागि पुल निर्माण हुन लागेको स्थानभन्दा उत्तरपट्टि पनि अजुर्नधारा नगरपालिकाले खोलाजन्य सामाग्री उत्खनन्का लागि क्षेत्र निर्धारण गरेको पाइएको हो । जुन बुद्धशान्ति क्षेत्रको पर्छ । बुद्धशान्ति गाँउपालिकाले सहमति विपरीत गएपछि उत्खनन् रोक लगाउने तयारी गरेको छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विजयपुर बालमैत्रि वडाको अगुवा बन्दै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरान: उपमहानगरलाई चालु २०७५ साल भित्र बालमैत्रि उपमहानगर घोषण गर्ने अवधि अब ५ महिना मात्र बाँकी छ । धरान उपमहानगरपालिकाले घोषणाको तयारीका लागि पूर्वाधार तयार गर्ने कार्य तिब्र रुसमा अघि बढाइएको जनाएतापनि अहिले सम्म धरानमा ३ वटा वडा १३,१४ र २० मात्र बालमैत्रि घोषित भएका छन् ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “किन बन्दैन १३ वर्षसम्म हुलाकी मार्ग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरान: हुलाकी राजमार्ग निर्माणमा राज्यले भद्दा मजाक गरेको छ । १३ वर्ष बित्दा पनि राजमार्ग निर्माणको प्रगति जम्माजम्मी २७ प्रतिशत मात्रै छ । तराईका जिल्लाको आर्थिक विकासलाई समेट्ने उद्देश्यसहित आर्थिक वर्ष २०६२/०६३ बाट यो राजमार्ग निर्माण सुरु भएको थियो । यो राजमार्ग निर्माणको डोब लगाउन सुरु त भयो तर अहिले सडकको डोब नै बिलाउन थालेको छ । राजमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न सरकार हिच्चिकचाउँछ । त्यसमा नजिकको छिमेकी भारत समेत सडक बनाउन भनेर अनुदान दिने आश्वासनको रुपमा पैसा दिँदैन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “मेचीनगरमा डेगुं संक्रमण दर उच्च” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
झापा: मेचीनगरका केही वडाहरुमा डेगुं संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान शुरु भएको छ । डेगुंबाट जोगिने उपाय, त्यसका लक्षण तथा सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “धरौटीमा छुटे जुवाडे” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
विराटनगर: उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगरका पाँच उद्योगी व्यवसायी जनही १२ हजार धरौटी बुझाएर छुटेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयको आदेश पछि जनही १२–१२ हजार धरौटी बुझाएर उनीहरु छुटेका हुन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले“बलात्कारका फरार आरोपी ३ वर्षपछि पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन् । २०७२ साल साउन २६ गते फुङलिङ नगरपालिका १० फुरुम्वुस्थित बाटोमा करणी गरेर फरार रहेका पाथिभरा याङ्वरक गाउँपालिका १ का २२ वर्षीय मिङमा शेर्पा पक्राउ परेका हुन् । गाउँमा छुकिछिपी बसेको अवस्थामा ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका ६ घुन्साबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।