मोरङ : मोरङ जिल्लाको बेलबारी १० भाउन्नेमा रहेको २२ बिघा जग्गा विभिन्न व्यक्तिले भोगचलन गर्न पाउनुपर्ने माग गर्दै दिएको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चले उनीहरुको रिट निवेदन खारेज गरिदिएपछि वनको २२ बिघा जग्गा हडप्न खोज्नेहरु अहिले तिलमिलाएका छन् । यो जग्गा पुर्व पश्चिम राजमार्गसँगै भाउन्ने चोकमा रहेको छ ।

सृजना सामुदायिक वन क्षेत्रमा पर्ने जग्गा कब्जा गरेर बसेका उनीहरुले भोगचलनको माग गर्दै रिट हालेका थिए । उक्त जग्गा भोगचलन गर्न पाउनुपर्ने दाबी गर्दै मचिन्द्र बेघा, चन्द्रीका साह, नरवहादुर तामाङ, नारदमणी गौतमलगायत सर्वोच्च गएका थिए ।

सर्वोच्चले माग दावी नपुगेको भन्दै रिट खारेज गरिदिए पछि उक्त जग्गा वनकै कायम भएको छ । सर्वोच्चले फिल्डबुक तथा नक्सा फेला नपरेको, नापी नक्सा नभएको र पुर्जा अनुसार जग्गा जंगल क्षेत्रमा पर्ने देखिएको र राष्ट्रिय वन क्षेत्रभि पर्ने देखिएकोले भन्दै निवेदकहरुको रिट खारेज गरेको हो ।

‘उक्त जमिन राष्ट्रिय वनको भएको र निवेदकको नाममा दर्ता भए र भएको पाइए जहिलेसुकै बदर हुने कानुनी व्यवस्था भएकोले स्वतः दर्ता बदर हुने देखियो,’सर्वोच्चको फैसलामा भनिएको छ ।

भूमाफियाहरुले २०५३ सालमा अनेक प्रपञ्च रचेर उक्त जग्गा दर्ता गरेका थिए भने दोस्रो जनआन्दोलन पछि बस्ती बसाल्ने प्रयन्त पनि गरेका थिए । उक्त वनको जग्गा जोगाउन स्थानीयस्तरमा संघर्ष समिति नै गठन गरिएको थियो ।

माफियाहरु शुरुमा पुनरावेदनमा गएका थिए । त्यहाँ पनि रिट निवेदन खारेज भएपछि उनीहरु सर्वोच्च गएका थिए ।