उदयपुर: बाख्रा चराउन गएकी १३ वर्षीया एञ्जिना खड्काको बलात्कार गरी हत्या आरोपमा पक्राउ परेका २ जनालाई उदयपुर प्रहरीले बिहिबार सार्वजनिक गरेको छ ।

रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी खड्काको गत शनिबार हत्या भएको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय १४ वर्षीय दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षीय पदमविर राईलाई जिल्ला प्रहरी कार्यालयले सावर्जनिक गरेको हो । घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिकालाई दुवैले एक्लै देखेर बलात्कार गरी हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

छोरी राति अबेरसम्म घर नफर्केपछि अभिभावक, छरछिमेकीले खोजी गर्दा आइतबार करिब २ बजेतिर खरबारी पाखाको एक रुखको फेदमा शव फेला परेको थियो । मृतकको शरीरमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र च्यातिएको, घाँटीमा निलडाम र मुखमा कपडा खादेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा ६ जना पक्राउ गरेको थियो । तर, बलात्कार र हत्यामा २ जना मात्र संलग्न भएको पुष्टि भएपछि अरुलाई छोडेर २ जनालाई सार्वजनिक गरेको उपरीक्षक राईले बताए ।