ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “धरानमा १५ दिनमा ८ डेङ्गु रोगी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरानमा डेङ्गु रोगीहरुको सङ्ख्या बढिरहेको छ । कात्तिक १४ गते धरान १० का एक युवामा डेङ्गु रोग देखापरेलगत्तै धरानको विजयपुर हस्पिटलमा मात्रै ८ जना डेङ्गु रोगी फेला पेरका छन् । बिहिबार मात्रै ३ जना डेङ्गुका बिरामी भर्ना भएका थिए । धरान–१५ का बाबु छोरामा डेङ्गु भेटिएको थियो भने धरानकै अर्को व्यक्तिमा पनि डेङ्गु भेटिएको हो । मङगलबार पनि अस्पतालमा धरान–१५ र धरान–१७ का ४५ वर्षे महिला र पुरुषमा डेङ्गु फेला परेको थियो । उनीहरु उपचाररत छन् । अस्पतालले उनीहरुको नाम सार्वजानिक गरेको छैन ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “पुर्वी पहाडीमा सुन्तला उत्पादन बढ्यो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
करिब एक महिना ढिलो सिजन सुरु भएपनि सुन्तलाको उत्पादन यो वर्ष पुर्वी पहाडी भेगमा गतबर्षको तुलनामा दोव्वर बढी उत्पादन हुने संकेत देखिएको छ । स्थानीय कृषक, व्यापारी र धरानस्थित कृषी उपज बजार व्यबस्थापन समितिका अनुसार यो वर्ष सुन्तलाको होलसेल कारोबार १० हजार मेट्रिक टन अर्थात करिब १ अर्व रुपैयाको हुने अनुमान गरिएको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “८१ प्रतिशत रोगीहरु निजी क्लिनिकमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा टापेको छ ।
इटहरी स्वास्थ्य सम्बन्धी एक सर्वेक्षणले सुनसरीको इटहरीका ८१ प्रतिशत दीर्घ रोगीहरु निजी अस्पताल तथा क्लिनिकहरुमा निर्भर भएको देखाएको छ । नसर्ने रोगहरुका विषयमा जेनेभा विश्वविद्यालयको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा इटहरीमा गरिएको एक सर्वेक्षणले सो तथ्यांक देखाएको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “पशु पालकलाई घाँसको बिउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
रामधुनी नगरपालिकामा पशुपालनलाई व्यावसायिक बनाउन आवश्यक घाँस खेतीका तर्फ उत्प्रेरित गर्न स्थिानीय कृषकहरुलाई घाँसको विउ वितरण गरिएको हो । पशु सेवा शाखा रामधुनीले नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेट अनुदान रकमबाट किसानलाई जय घाँसको उत्पादन गर्नका लागि विउ बितरण गरेको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “ढुंगाले लागेर पर्यटको मृत्यु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  सोलुखुम्बुको खुम्बु –पासाङल्हामु गाँउपालिका–४ मा बिहिबार एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । बिहान करिब–३ बजेको समयमा आमाडब्लम हिमाल आरोहण गर्न जाने क्रममा २ नम्बर कयाम्पमा माथिबाट खसेको ढुगां लागेर अष्ट्रेलियन नागरिक ३३ वर्षीय माइकल जियोफ्रीको मृत्यु भएको हो । ढुगाले लागेर ५० मिटर तल खसेका उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले“नेपथ्य साँझको तयारी तीव्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
झापाको बिर्तामोडमा यही मंसिर ४ गते हुने सडक दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ कार्यक्रमको तयारी तीव्र पारिएको छ । महाअभियानलाई प्रभावकारी रुपले सम्पन्न गर्न आवश्यक सबै तयारी धमाधम भइरहेको आयोजक समितिले जनाएको छ । महाअभियानको औपचारिक शुभारम्भ कार्यक्रममा नेपालकै चर्चित लोकरक सांगीतिक ब्यान्ड नेपथ्य आउने भएको छ । प्रदेश नम्बर १ का प्रमुख सहरलाई दुर्घटनामुक्त बनाउने उद्देश्यले महाअभियानलाई साथ दिन नेपथ्य ब्यान्ड टोली आउने भएको हो । ब्यान्डले दुई घण्टा आफ्नो प्रस्तुति दिनेछ । अभियान सहारा नेपालको संयोजन तथा विभिन्न स्थानीय संघसंस्थाहरुको सहयोगमा हुने भएको छ । अभियानको शुभारम्भ डोमालाल राजवंशी रंगाशालामा हुँदैछ ।