साउदी: अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खाशोग्गीको हत्या गर्ने निर्देशन साउदी युवराजले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको ठहर गरेका छन्। एकजना प्रवक्ताका अनुसार ति गुप्तचर अधिकारीले पत्रकार खाशोग्गीलाई साउदी अरेबिया फर्कन मनाउने टोलीको नेतृत्व गरेका थिए। पत्रकार जमाल खाशोग्गीलाई गत अक्टोबर दुई तारिखमा इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा जोरजबर्जस्तीको घटनापछि प्राणघातक सूई दिइएको पनि बताइएको छ। ति साउदी सरकारी अभियोजनकर्ताले उक्त हत्याको घटनाका सम्बन्धमा ११ जना विरुद्ध अभियोग लगाइएको बताएका छन् भने ति मध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ। उक्त घटनामा संलग्न भएको आशंकामा अन्य १० जना विरुद्ध छानबिन जारी रहेको छ।

साउदी राजधानी रियाधमा आयोजित एक पत्रकार सम्मलेनमा सहायक सरकारी अभियोजनकर्ता शलान बिन राजी शलानले भने खाशोग्गीको मृत्यु भएपछि वाणिज्यदूतावासभित्रै उनको शवलाई टुक्रा पारिएको थियो। त्यसपछि शवका टुक्रालाई दूतावासबाहिर अर्का एजेन्टलाई हस्तान्तरण गरिएको पनि उनले बताए। ति पत्रकारको शवको अवशेष फेला पार्ने प्रयास जारी रहेको छ। सरकारी अभियोजनकर्ता शलानले उक्त हत्याको अभियोगमा मुद्दा चलाइएकाहरूको नाम भने सार्वजनिक गरेनन्। तर उनले उक्त हत्याको आदेश ति पत्रकार खशोग्जीलाई साउदी अरेबिया फर्कन मनाउने जिम्मा लिएको वार्ताटोलीका प्रमुखले दिएका बताएका छन्। देशको गुप्तचर निकायका उपप्रमुख जेनरल अहमद अलअसिरीले खशोग्जीलाई स्वदेश फर्काउन उक्त टोलीलाई इस्तानबुल पठाएका बताइएको छ। साउदी युवराज मोहम्मद बिन सलमानको सम्बन्ध उक्त हत्याको घटनासँग नरहेको पनि ति अभियोजनकर्ताले बताएका छन्। आलोचकहरूले युवराज मोहम्मदलाई यस्तो विषयमा जानकारी नहुनु अति नै असामान्य कुरा रहेको बताएका छन् ।उक्त हत्याका सिलसिलामा पक्राउ गरिएका २१ जना मानिसहरू मध्येका धेरैलाई विगतमा उनको सुरक्षा समूहको सदस्यका रुपमा देखिएको थियो।

देश सञ्चारबाट साभार गरिएको