धरान: नयाँ कार्यसमिति गठन भएको तीन महिना पनि नबित्दै धरान ५ स्थित निशानदेवीमा ठुलो परिणाममा रुख कटान भएको छ ।

पाँचकन्या सब डिभिजन कार्यालय धरानले शुक्रबार दिउँसो गस्तीको क्रममा रुख काटेर चिरान गर्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । घटनामा समुहका पदाधिकारीहरुको मिलेमतोका आशंका गरिएको छ । वन कर्मचारीका अनुसार पक्राउ परेकाहरुले स्पटमा देउमान लिम्बुको नाम लिएका थिए । उनी वन समुहमा कार्यालय सचिवका रुपमा छन् । ‘हिजो स्पटमा देउमानले काम लगाएको भन्यो, त्यसैले यो सब मिलेमतोमा हो कि भन्ने छ । अनुसन्धानबाट सबै खुल्छ,’ती कर्मचारीले भने ।

सहायक वन अधिकृत सुरज निरौलाको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनालाई तरहरास्थित सशस्त्र वन सुरक्षा शाखा(हिरासत)मा राखिएको निरौलाले जानकारी दिए । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जानकारी दिदै उनले वरामद भएको काठको मुल्यांकन, क्षतिको विवरण अझै खुल्न बाँकी नै रहेको पनि बताए । ‘अभियुक्तसँग वयान लिने, क्षति यकिन गर्ने र विगो मुल्यांकनको काम बाँकी नै छ । कति रुखहरु काटिए भनेर अनुसन्धान गर्न पनि बाँकी छ,’उनले भने ।

कार्यकाल पुरा नभै पुरानोलाई हटाइएको थियो

46372539_2210946905896256_8566020763851685888_n copy

गएको असोजमा धरानको वडा नं ५ स्थित निशानदेवी सामुदायिक वन समुहले पहिरोमा परेको, सडेगलेको रुख कटान गरेको थियो । सेक्टर वन कार्यालयको स्वीकृति लिएर ती रुख कटा गरिएको भएपनि वडा अध्यक्ष सन्तोष लिम्बूसहित केही व्यक्तिहरु सन्तुष्ट थिएनन् । गएको भदौ ४ गते साधारणसभामा यो बिषयमा ठुलो विरोध भयो ।

पुर्व एक कार्यसमिति सदस्यका अनुसार शुरुदेखि नै समुहमा बस्न नपाएको टिमले अनेक विरोध र झमेला झिकिरहेको थियो । साधारणसभामा हिसाबकिताब पारदर्शि देखाएपनि उनीहरुले सबै प्रक्रिया मिलेको रुख कटानको विवाद झिके । त्यसपछि नरकुमारी लिम्बू नेतृत्वको कार्यसमितिले एक बर्ष कार्यकाल बाँकी रहदै राजिनामा दिए । त्यसपछि निवार्चित वडाअध्यक्ष सन्तोष लिम्बुको चाहना अनुसार पदमबहादुर बराइलीको अध्यक्षतामा नयाँ समिति गठन भयो । ‘पुरानो समितिले नियम पालना गरेर वनको स्वीकृतिमा ढलापडा रुख काट्दा विरोध गरे, त्यो नियोजित थियो । अहिले परिणाम देखियो,’ती सदस्य भन्छन् ।

पुर्वअध्यक्ष लिम्बू आफ्नो नेतृत्वमा राम्रो काम भएपनि शुरुदेखि असन्तुष्ट भएकाहरुले साधारणसभामा विरोध गरेपछि नेतृत्व छोडिदिएको बताइन् । बजेट, हिसाब किताबमा कुनै गडबडी नभएको पनि उनले दाबी गरिन् । ‘विरोध भएपछि पद छोडिदिएका थियौं, अहिलेकाले के के गर्दैछ, थाह भएन,’उनले भनिन् ।

46389740_2210946959229584_6497270347493015552_n copy