इटहरी: ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नाराका साथ आज इटहरीमा सातौ राष्ट्रिय कर दिवस मनाइएको छ ।

नेपालले २०५४ सालमा लागू गरेको मूल्य अभिबृद्धि करको सुरुवाती दिनलाई आधार मानेर हरेक मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको छ । कर दिवसको अवसरमा इटहरीमा प्रभात फेरी निकालिएको थियो । उघोग बाणिज्य संघबाट सुरु भएको प्रभात फेरीमा विभिन्न नारा लेखिएको प्ले कार्डसहितको रयालीले इटहरी बजार परिक्रमा गरी उपमहानगरपालिका अघि कोणसभा गरेको थियो ।

करदाता सेवा कार्यालय इटहरीले आयोजना गरेको प्रभात फेरीमा उघोग बाणिज्य संघ, होटल व्यावसायी संघ, कर सहयोगी श्रमिक संगठन, कस्मेटिक तथा मनहारी ब्यवसायी संघ, इटहरी वितरक संघ पुर्वाञ्चल, सुनचाँदी ब्यवसायी संघ तथा इटहरीका बिभिन्न बस्तुगत संघसंस्थाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा इटहरीकी उपप्रमुख लक्ष्मी गौतम, उघोग बाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्ट,करदाता सेवा कार्यलयका प्रमुख फडिन्द्र वाहादुर सुनुवार, अडान सुनसरीका अध्यक्ष शान्तिराम खनाल लगायतले नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न आग्रह गरेका थिए ।