धरान: मेयर कप स्कुल ओलम्पिक २०७५ अन्र्तगतको फुटबल प्रतियोगिता शनिबारदेखि धरानमा शुरु भएको छ ।

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा पर्वत इंलिस बोर्डिङ स्कुलले किरातेश्वर माविलाई ३–० गोलअन्तरले हराउदै प्रतियोगितामा विजयी यात्रा शुरु गरेको छ । पर्वतको जितमा प्रेरित लिम्बू, सत्यम लिम्बू र सहिल लिम्बूले एक एक गोल गरेका थिए । पहिलो हाफको ८ औं मिनेटमा प्रेरितले प्रतियोगिताको पहिलो गोल गर्दै पर्वतको खाता खोलेका थिए भने दोस्रो हाफको पहिलो मिनेटमा सत्यमले दोस्रो गोल गरेका थिए । यस्तै, दोस्रो हाफको २६ औं मिनेटमा सहिलले तेस्रो गोल गर्दै पर्वतको जित सुनिश्चित गरे ।

फुटबल प्रतियोगितामा ४४ वटा निजी तथा सामुदायिक स्कुलहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा आइतबार ४ वटा खेल हुनेछ । आयोजक समितिका अनुसार पहिलो खेल लोटस विद्या मन्दिर र प्रहरी आवासिय माविबीच हुनेछ भने दोस्रो खेल जुनियर पायोनियर स्कुल र सगरमाथा स्कुलबीच, तेस्रो खेल पञ्चायत मावि र भानुस्मृति माविबीच हुनेछ भने चौथो खेल धरान लिगामेन्ट स्कुल र सेन्ट जोसेफ स्कुलबीच हुनेछ ।

धरान नगर खेलकुद विकास समितिद्धारा आयोजित मेयर कप स्कुल ओलम्पिकको औपचारिक उद्घाटन भने मंसिर ५ गते धरान १६ स्थित रंगशालामा हुनेछ । फुटबलसँगै स्कुल ओलम्पिकको औपचारिक समापन मंसिर १७ गते हुनेछ । गत बर्ष पहिलो सँस्करणमा १० खेलको विधा मात्र समावेश भएकोमा यसपाली २ खेल थप गरिएको पनि समितिले जनाएको छ । कक्षा १० सम्मका छात्र छात्राहरु सहभागी हुन पाउने प्रतियोगितामा १३ वटा सामुदायिक र ४१ संस्थागत(निजी) विद्यालय गरी कुल ५४ वटा विद्यालयहरु सहभागी हुनेछ । प्रतियोगितामा फुटबल छात्र, भलिबल छात्र र छात्रा, बास्केटवल छात्र र छात्रा, टेबुलटेनिस छात्र र छात्रा, ब्याडमिन्टन छात्र र छात्रा, बुद्धिचाल खुला, कराते छात्र र छात्रा, ताइक्वान्दो छात्र र छात्रा, क्रिक्रेट छात्र, एथलेटिक्स छात्र र छात्रा, कवड्डी छात्र र सेपाकटाक्रो छात्रका स्पर्धाहरु हुने समितिका अध्यक्ष सुवास राईले जानकारी दिए ।

प्रतियोगितामा कुल ७३ स्वर्ण, ७३ रजत र १२४ कास्य पदक राखिएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जित्ने विद्यालय प्रथम हुनेछ । उक्त विद्यालयले नगद १ लाख २० हजार र च्याम्पियन ट्रफी हात पार्नेछ भने दोस्रो हुने विद्यालयले ८० हजार र तेस्रो हुनेले नगद ५० हजार हात पार्नेछ । नगद पुरस्कारबाट कर कट्टा गरिने आयोजकको भनाई छ ।