इनरुवा: सुनसरीको दुहवी ३ मा रहेको व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको अवसरमा संस्थाले दुहवी ७ की चन्द्रकला विश्वास र ज्येष्ठ नागरिक दुहवी ७ की कलावती देवी थारुलाई सम्मान गरेको छ । बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष कुशलचन्द विश्वासले संस्थाको आर्थिक वर्ष २०७४र ०७५ को वार्षिक कार्य प्रगति प्रतिवेदन विवरण र कार्य योजना पेश गरेका थिए । अध्यक्ष विश्वासले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायिक कृषि सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन कृषि उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको बताए ।

संस्थाले बेरोजगार यूवाहरुलाइ स्वरोजगार बनाउँन उत्पादन तथा आयमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले किसानहरुलाइ सहुलियत दरमा मलखाध, बिउ, कृषि सामाग्री बिक्री, रेमिटेन्स सेवा सञ्चालन गर्दै आएको छ । कार्यक्रममा अतिथिहरुले मन्तव्यको क्रममा स्थानीय सरकारले सहकारी संस्थाहरुसँग समन्वय गरेर जानुपर्ने र कृर्षिलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको प्रमुख आतिथ्य तथा जिल्ला कृषि सहकारी सुनसरीका उपाध्यक्ष सुरेश शर्मा, जिल्ला सहकारी संघ सुनसरी ३ नम्वर क्षेत्रका सदस्य हरि बहादुर प्रधानलगायत अतिथि रहेका थिए । संस्थामा शेयर सदस्य संख्या ४५१ रहेको छ ।