ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सडकको नाममा प्राकृतिक सम्पदाको दोहन ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।

पाँचथरको फाल्गुनन्द गाँउपालिकामा सडक निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन भएको छ । उन्नति परियोजनाले उपभोक्ता समितिमार्फत् प्राकृतिक सम्पदाको दोहन गरेको हो । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले कुम्मायक गाँउपालिका हुदैं फाल्गुनन्द गाँउपालिकाको उत्तरसम्मको १६ किलोमिटर सडक निर्माणको काम गर्दै आएको छ । चार ओटा उपभोक्ता समितिले १६ किलोमिटर सडकलाई ४ खण्डमा विभाजन गरी काम गर्दै आएका छन् । फाल्गुनन्द गाँउपालिकादेखि कुम्मायक १ सम्मको ४ किलोमिटर सडकमा यस्तो बेथित अवस्था देखिएको हो । 

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सात हजार महिला तथा बालबालिकाको उद्धार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुदैँ विदेश लादैँ गरेका सात हजार २९महिला तथा बालबालिकालाई उद्धार गरेको छ । प्रहरीले झापा, इलाम , मोरङ, उदयपुर, संखुवासभा, पर्सा, सर्लाही, महोत्तरी, सिरहा, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, दाङ कञ्चनपुरलगायतका नाका हुदैँ विदेश बेच्न लैजादैँ गरेको अवस्थामा उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकोमध्ये तीन हजार ८९६ जना १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा तीन हजार १३३ महिला रहेका छन् ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “बराहक्षेत्रमा एकादशी मेलाको तयारी पुरा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दशैं तिहार पछि आउने हरिबोधनी एकादशीमा लाग्ने मेलाका लागि बराहक्षेत्रमा तयारी पूरा भएको छ । यसपाली मंसिर ३ गते सोमबारदेखि मेला लाग्दैछ । परम्परागत धार्मिक आस्था अनुसार तुलसीको विवाह गर्ने एकादशीको रुपमा मानिदै आएको हरिबोधनी एकादशीमा बराहक्षेत्रमा लाग्ने मेलामा देश विदेशका हजारौं श्रद्धालुहरु आउने गर्दछने ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “अब विराटगनगरबाटै माउण्टेन फ्लाइटको तयारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
यहाँका पर्यटन तथा होटल व्यावसायीहरुले आफ्नै पहलमा माउण्टेन फ्लाइट उडाउने तयारीलाई अन्तिम चरणमा पुराएको छ । विराटनगरबाटै माउण्टेन फ्लाइट(पर्वतीय उडान) गराउन लागिपरेका उनीहरुले विराट होलिडेज नाममा यसै सातादेखि नियमित माउण्टेन फ्लाइट गराउने भएका छन् ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “धानको मूल्यमा किसानको असन्तुष्टि ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुपरजोन लागु भएको झापाको कचनकवल गाउँपालिका–२ का किसान हरिभक्त आचार्यले एक बिघा जमिनमा धान रोपे । उनले अर्काको जमिन अधियाँ लिएर धान रोपे । उनको यस वर्षको धान करिब ७० मन हुने अनुमान छ । तर, धान रोपेदेखि झारिन्जेलसम्मको हिसाब गर्ने हो भने कति पनि नाफा उनले नपाउने रहेछन् । उनले भने, ‘मेरो खर्च २१ हजार रुपैयाँ भएछ । अब साहुलाई दिएर आधा मैले राख्दा ठिक्क २१ हजार रुपैयाँ बराबरको धान हुने रहेछ । मेरो मेहेनत, मल तथा बीउको हिसाबै छैन ।’ यस वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँका दरले सरकारले न्यूनतम समर्थन मूल्य तोकेको छ ।