धरान: नेपालको लागि वंगलादेशकी राजदुत मस्फि विन्ते शाम्सले वंगलादेशमा पर्यटनको मार्केटिङ गर्न सके प्रदेश १ ले धेरै फाइदा लिनसक्ने बताएकी छिन् ।

आइतबार धरानमा वंगलादेशले पाएको समृद्धिबारे आयोजित कार्यक्रममा राजदुत शाम्सले वंगलादेशका नागरिकहरु नेपालबारे जानकार नभएको भन्दै कञ्चनजंघा हेर्न पनि भारतको दार्जिलिङ मात्र गइरहेको खुलाइन् । नेपाल र प्रदेश १ को सुन्दर पर्यटकीय गन्तव्यहरुबारे सुचना पाए वंगलादेशीहरु घुम्न यता आउने र प्रदेशको अर्थतन्त्रमा योगादन पुग्ने बताइन् । ‘यसको लागि तपाईहरु वंगलादेशमा मार्केटिङ गर्नुस्, वंगलादेशका नागरिकहरु यता घुम्न आउनेछन्,’उनले भनिन् ।

उनले नेपाली व्यावसायीहरुलाई वंगलादेशमा हुने ट्रेड फेयरहरुमा सहभागी हुन आग्रह गर्दै नेपालको चिया, कफीलाई वंगलादेशमा निर्यात गर्न पनि सुझाव दिइन् । वंगलादेशका नागरिकहरु हवाई मार्गबाट सिधै काठमाण्डौं पुग्ने र पोखरा, नगरकोटतिर मात्र घुमेर फर्कने गरेको पनि उनले बताइन् । स्थलमार्गबाट यातायात सेवा सञ्चालनको लागि पहल गर्ने पनि उनले बताइन् ।

IMG_7070 copy

वंगलादेशले क्षेत्रीय विकास र साझेदारीको नीतिलाई निरन्तर पछ्याइरहेको राजुत शाम्सको भनाई थियो । शुरुवाती समयमा वंगलादेशको अर्थतन्त्र, कृर्षि, उद्योगलगायत सबै क्षेत्र जर्जर भएको र कठिन चुनौती, यात्रा पार गर्दै अहिले अल्पविकसित मुलुकबाट फड्को मारेको पनि उनले बताइन् । यसमा सक्षम, दुरगामी र दृढ इच्छाशक्ति भएको नेतृत्व मुख्य कारण रहेको पनि उनले बताइ । वंगलादेशका संस्थापक राष्टपिताले देखेको सोनार वंगलाको सपनालाई अहिले प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा साकार बनिरहेको पनि बताइन् ।

अहिले वंगलादेश विश्वको २६ औं ठुलो अर्थतन्त्र भएको मुलुकमा परिणत भइसकेको छ भने प्रतिव्यक्त आय १६ सय १० डलर नाघिसकेको छ । कुलग्राह्यस्थ उत्पादन ७.२८ प्रतिशत भएको वंगलादेशमा स्वतन्त्र राष्ट्र हुदा ३३६२ मेघावाट रहेको विद्युत अहिले १५७५५ मेघावाट उत्पादन पुगेको छ । 'यो सब सक्षम नेतृत्व र मानव संशाधनमा अनि आइटीमा भएको लगानीको प्रतिफल हो । अहिले मेघा प्रोजेक्टहरु चलिरहेको छ, सोनार वंगलाको सपना साकार हुदैछ', उनले भनिन् ।