सुनसरी:सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजित तेस्रो अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५ मा युनाइटेड गल्र्स दार्जिलिङ च्याम्पियन बनेको छ ।

प्रतियोगिताको आइतबार सम्पन्न भएको फाइनलमा माउण्ट एभेरेष्ट स्पोटिङ क्लब चतरालाई २-१ गोलअन्तरले हराउदै दार्जिलिङ च्याम्पियन बनेको हो । पहिलो हाफमा तेस्रो मिनेटमा दार्जिलिङकी क्याप्टेन सुस्मिता लेप्चाले फ्रि किकमार्फत आकर्षक गोल गर्दै खाता खोलेकी थिइन् । काउण्टर अट्याकमा उत्रिएको चतराकी क्याप्टेन मनिषा विष्टले बराबरी गोल फर्काइन् ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियोे । दोस्रो हाफको खेल सकिन मात्र २ मिनेट बाँकी रहदा दार्जिलिङकी सुस्मिताले गोल गर्दै जित पक्का गरिन् । चतराकी डिफेन्सले डिबक्स एरियामा गरेको गल्तीको फाइदा उठाउदै सुस्मिता लेप्चाले बल नियन्त्रणमा लिएर जाली चुमाइन् । गएको कार्तिक २६ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । च्याम्पियन दार्जिलिङको युनाइटेड गल्र्सले नगद ५१ हजार र ट्रफी हात पार्यो भने उपविजेता टिम माउन्ट एभरेष्टले ३१ हजार र ट्रफी पुरस्कार थाप्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित दार्जिलिङकी निलु तिर्किले नगद १० हजार थापिन् भने दार्जिलिङकी उच्च गोलकर्ता सुस्मिता लेप्चाले नगद ३ हजार पाइन् । यस्तै, उत्कृष्ट डिफेन्स माउण्ट एभरेष्टकी कोपिला धिमाल, उत्कृष्ट मिडफिल्डर माउण्ट एभरेष्टकी मनिषा विष्ट, उत्कृष्ट गोलकिपर माउण्ट एभरेष्टकी कल्पना क्षेत्री घोषित हुदै जनही नगद ३ हजार थापे भने प्लेयर अफ द फाइनल घोषित हुदै सुस्मिता लेप्चाले नगद १ हजार हात पारे ।