ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “भारतीयलाई नागारिकता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
इटहरी–८ बाट एक भारतीय नागारिकलाई नेपाली नागारिकता दिएको पाइएको छ । इटहरी–८ का कार्यवाहक वडाध्यक्ष बनेका बेला बुधनारायण चौधरीले भारतीय नागारिकलाई नेपाली नागारिकताका लागि सिफारिस गरिदिएको खुलेको हो । इटहरी–८ का वडाध्यक्ष रोहित चौधरी बिदा बसेको अवस्थामा भारतीय नागारिक गणेश हरिजनलाई नागारिकताको लागि सिफारिस गरेका हुन् । गणेशलाई इटहरी–८ का वासुदेव हरिजनको दाइ, मूर्ति हरिजनका छोरा नाताको आधारमा वडा कार्यालयमा निवेदन दिइएको पाइएको छ । वासुदेव वडाले दिएको सिफारिस लिएर इलाका प्रहरी कार्यालय इटहरीमा सर्जमिन गर्न पुगेका थिए ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “धरानको भानुचोकका व्यापारीको गुनासो गाडीले निसास्निे गरी छोप्छ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरानको भानुचोकका व्यापारीले आफ्नो पसललाई सवारीका साधनले निसास्सिने गरी छोप्ने गरेको गुनासो गरेका छन् । भानुचोकमा रहेको सार्वजानिक शौचालयको पछाडी र भानुचोकबाट पूर्वका लागि छुट्ने बस स्टेण्ड अगाडिदेखि देशीलाइनको मोडसम्मका पसलहरुमा ग्राहक पस्नै नसक्ने गरी सवारी साधनले छोपिने गरेको गुनासो व्यापारीहरुले गरेका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “रात्रीकालिन बजार हल्ला मात्र” शीर्षकको समाचारलाई छापेको छ । विगतमा हामीले जनतालाई ढाटेयौं , अब काम गरेर देखाउँछौं, शान्ति सुरक्षाको प्रबन्ध हुन्छ , यही कात्तिक भित्रमा इटहरीमा रात्रीकालिन बजार लगाउने गरी काम अगाडि बढाउँछौं । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले भदौ ३१ गते पत्रकार सम्मेलनमा भनेकी थिइन् । उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मी संग उनले इटहरीमा रात्रीकालिन बजार दशैं पछि र तिहार अगाडी लगाउने ठोकुवा गरेका थिइन् । तर सबै पर्वहरु गइसकेको छ । तर उनले ठोकुवा गरेको रात्रीकालिन बजारको चाइचुई छैन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “तीन कोइरालाले भने ‘हामी एक हुन्छौं’ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
कोइराला परिवारको लिगेसीले मात्रै पार्टी बलियो हुनसक्ने भन्ने बुझाई बोक्ने नेपाली कांग्रेसका आम कार्यकर्ताहरुलाई आइतबार विराटनगरमा देखिएको कोइराला एकता ले अझ उत्साहित बनाएको छ । कांग्रेसको माथिल्लो नेतृत्वमा पदासिन तीन कोइरालाहरु महामन्त्री डा शेखर र नेतृ सुजतालाई एउटै माला लगाइदिँदा जीपी कोइराला फाउण्डेनको प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी कार्यकर्ताहरुले निकैबेर तालीले स्वागत गरे ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “ मुसहर समुदायलाई बासकै चिन्ता ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सुरज ऋषिदेव मजदुरी गर्छन् । दिनमा पाँच सय रुपैयाँ कमाउँछन् । यो कमाइमा दुई छोराछोरीसहित ६ जनाको परिवार आश्रित छ । बिर्तामोड नगरपालिका ३ स्थित अदुवा खोला किनारमा उनको सहित १० परिवारको बसोबास छ । बस्तीसम्म जाने बाटो छैन । बिजुली छैन । ट्युबवेल र शौचालय पर्याप्त छैन । वर्षातमा सबैका घर डुबानमा पर्छन् । मुसहर समुदायका उनीहरू सबै भूमिहीन हुन् । उनीहरू अहिले ग्रामीण प्रशिक्षण केन्द्र कलवलगुडीको जमिनमा बसोबास गरिरहेका छन् । मुसहर बस्तीका कसैको पनि राम्रो घर छैन । चिसो मौसम सुरु भइसकेकोछ । न्यानो लुगा र राम्रो टाँटीबेरा भएको घर नहुँदा उनीहरू प्रभावित हुन थालिसकेका छन् । मुसहर बस्तीमा आधारभूत आवश्यकता आवासकै ठुलो समस्या छ ।