शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत दुई खेलमा थ्रीस्टार विजयी हुँदा विभागी टोली पुलिसले भने अङ्क बाँडेको छ । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका छन् ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि पुलिसले गोल गर्न सकेन । खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विकास राई घोषित हुँदै रु १० हजार प्राप्त गरे । यो बराबरीसँगै पुलिसले २ खेलबाट ४ अङ्क जोडेको छ । पहिलो खेलमा पुलिसले जावलाखेललाई पराजित गरेको थियो ।  लिगमा मछिन्द्रको यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अङ्क बाडेको थियो । मछिन्द्रले २ खेलबाट २ अङ्क जोडेको छ । यसैगरी दोस्रो खेलमा ललितपुरे क्लब थ्री स्टार क्लबले लगातार दोस्रोमा जित निकालेको छ । ब्रिगेड ब्वाईजलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै थ्री स्टारले जारी लिगमा लगातार दोस्रो जित निकालेको हो ।

ghatanarabichar.com बाट साभार गरिएको