इनरुवा: सुनसरीको हरिनगर गाउँपालिकाको दक्षिणी क्षेत्रको मुकामको रुपमा रहेको भुटाहाबासीका लागि आइतवार रातको समय वाहवाहीमै बित्यो ।

हरिनगर गाउँपालिकाको भुटाहा बजारमा रहेको बालकृष्ण उच्च माविको मैदानमा आयोजित रात्रीकालीन बहुभाषिक कवि सम्मेलनमा जमेको महफिलले मंसिरको चिसोमा पनि तताएको थिको । चिसोको कुनै वास्ता नगरी हजारौ स्थानीय, अतिथिहरुले मुशायराको मजा लिए । एलाईन्स नेपालले आयोजना गरेको नेपाल भारतमैत्री मुशायरा अर्थात बहुभाषिक कवि सम्मेलनको आर्कषण बन्न पुगेका भारतीय कविहरुको प्रस्तुतीले दर्शकदीर्घाका पारखीहरुलाई घण्टौं बाँधेर राखेको थियो । नेपालीसहित उर्दु र हिन्दी भाषामा कार्यक्रममा आमन्त्रित गरिएका साहित्यकारहरुले प्रस्तुती दिएका थिए ।

कांग्रेस नेता एवं सांसद ज्ञानेन्द्र कार्की मात्रै नभएर गाउँपालिका अध्यक्ष गफार अन्सारी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीकासाथै सुरक्षा निकायका प्रमुख समेत मुशायरा कार्यक्रममा मन्त्रमुग्ध देखिए । तामझामका साथ राती करिब ८ बजे सुरु भएको मुशायराको आगाज नेपाली कविहरुले गरेपनि त्यसपछि भारतीय साहित्यकारहरुले एकपछि अर्काी प्रस्तुति दिएका थिए । भुटाहा आफैंमा मुस्लिम बाहुल्यता भएको क्षेत्र हो । त्यसमा पनि आसपासका गाउँपालिकालगायतबाट ठुलो संख्यामा सर्वसाधारणको कार्यक्रममा उपस्थिति थियो । कविका पंक्तिनै पिच्छे घन्किने वाह वाहीले बहुभाषिक कवि सम्मेलनको माहौलाई नै तताएको थियो । रात्रीकालीन कार्यक्रम भएकाले सुरक्षाको मजबुत बन्दोबस्तीका साथ आयोजित कार्यक्रम राती अबेरसम्म चल्यो । कार्यक्रम अवधिभर ठुलो संख्याका सर्वसाधारणले साथ दिँदै महफिलको लुफ्त उठाए ।

46447629_266001590782633_535156129127202816_n copy

नेपाल भारतको सुमधुर सम्बन्ध दर्शाउन र आपसी भाइचाराको उद्देश्यसाथ आयोजना गरिएको बहुभाषिक सम्मेलनमा दर्शकको उपस्थिति र सहभागी कविहरुको उत्साहजनक प्रस्तुतीले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ । जनस्तरमा पनि सकारात्मक सम्बन्ध स्थापित गराउन फलदायी बनेको आयोजक संस्थाका अध्यक्ष नईम अन्सारीले बताए । मुशायरामा भारतका बिकास बोगल, भिभा शुक्ला, चाँदनी सबनम, सुल्तान जाहाँ, असद बस्तवी, अरसल महताबसहित नेपालका साकिर हारुनी, जमसेद अन्सारी, शैयब राही, डम्बरुबल्लभ भण्डारी, लिलानाथ सिलवाल, रविन्द्रमुनी कोइरालालगायतका साहित्यकारहरुले रचना, सृर्जना कविता, गजल तथा सायरी पस्केका थिए ।

46515952_1059779444224904_7773269130718740480_n copy