पाँचथर : पालमै पहिलो पटक प्रदेश नं १ को पहाडी जिल्ला पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ ।

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा वादलले पाँचदर सदरमुकाम फिदिममा एक भव्य समारोहबीच सोमबार १ सय १ बर्षीय भगवती भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेर वितरण शुभारम्भ गरेका छन् । योसँगै देशभरमा राष्ट्रिय परिचयपत्र वितरण अभियान पनि शुरुवात भएको घोषणा पनि भएको छ ।

दोस्रो परिचय पत्र गृहमन्त्री थापालाई नै हस्तान्तरण गरिएको थियो । उनलाई पहिलो परिचय पत्र पाएकी वृद्धा भण्डारीले प्रदान गरेकी थिइन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक चोमेन्द्र न्यौपानेले एक सय १ वर्षीया भण्डारीलाई जेष्ठताका आधारमा पहिलो परिचयपत्र दिइएको जानकारी दिए । परिचयपत्रका लागि असारदेखि विवरण संकलन गरिएको थियो । हालसम्म ५२ हजारले विवरण भरिसकेकाले कार्ड प्रिन्ट हुने काम सुरु भएको न्यौपानेले जानकारी दिए ।

नमुनाका रुपमा पहिलो चरणमा पाँचथरका १ लाख १० हजार र सिंहदरबारका विशिष्टसहित ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । समारोहमा गृहमन्त्री थापासहित प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव लगायतका विशिष्ट अधिकारीहरू फिदिममा पुगेका थिए । राष्ट्रिय परिचयपत्र दोस्रो चरणमा १५ जिल्लामा वितरण गरिनेछ ।