धरान: सुनचादी व्यावसायीहरुले सुनचाँदीको दैनिक दरभाउ ‘डिजिटल डिस्प्ले’मा राख्न शुरु गरेका छन् ।

सुनसरी सुनचाँदी व्यावसायी संघले सोमबार धरानमा डिजिटल डिस्प्लेको उद्घाटन गरेको छ । डिस्प्लेको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सुनसरी उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । संघका जिल्ला अध्यक्ष किसन मास्केले पहिलो चरणमा ५० वटा डिस्प्ले राखिएको जानकारी दिए । नेपाल सुनचाँदी व्यावसायी महासंघ काठमाडौबाट दैनिक ११ बजे सुनचाँदीको नयाँ दरभाउ खोल्ने वित्तिकै डिजिटल डिस्प्लेमा देखाउने उनले बताए ।
संघका अनुसार डिस्प्लेमा सफ्टवेयर कनेक्ट गरिएको ‘मेमोरी चिप्स’ राखिएको छ । उक्त चिप्सबाट महासंघका सदस्यहरुले राखेको डिस्प्लेमा एक साथ सुनचाँदीको दैनिक दरभाउ देखिनेछ ।

यसअघि, कागजमा दरभाउ लेखेर व्यावसायीहरुलाई वितरण गर्नुपर्ने बाध्यता थियो । ‘कहिले कही त मध्य दिउँसोसम्म पनि पसलमा नयाँ दरभाउ पुगेको हुदैनथ्यो, अब त्यो समस्या हटेको छ,’ अध्यक्ष मास्केले भने । डिस्प्ले प्रणालीलाई विस्तारै प्रदेशभरि लागु गर्ने उनले बताए ।