धरान: बहुप्रतिक्षित एवं पुर्वी नेपालको पर्यटनको कोशेढुंगा मानिने माउण्टेन फ्लाइट अब विराटनगरबाट हुने पक्का भएको छ ।

प्रदेश सरकार, एयरलाइन्स सञ्चालक एवं पर्यटन व्यावसायीहरुबीच दुई दिन निरन्तर संवाद र पहलकदमी पछि विराटनगरबाट फ्लाइट हुने निश्चित भएको हो । पर्यटन व्यावसायी एवं सेक्ष ट्राभलिङका सञ्चालक वासुदेव बरालका अनुसार प्रत्येक शनिबार बिहान ७ बजेत विराटनगर एयरपोर्टबाट फ्लाइट हुनेछ । पर्यटकको लागि झ्याल भएको सिट हुनेछ भने ५५ मिनेट समयसम्म हिमाल दृष्यवलोकन गर्न पाइनेछ ।

निजी क्षेत्रका पर्यटन व्यावसायीहरुले चार्टर गरेर पुर्वमा माउण्टेन फ्लाइटको शुरुवात गर्न लागेका हुन् । यसबारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहेको छ । एक फ्लाइटमा १९ जना पर्यटकलाई समावेश गरिनेछ भने शुल्क ९ हजार ९ सय रुपैया लाग्नेछ । 'यो काठमाण्डौं र पोखराबाट हुने फ्लाइट भन्दा सस्तो हो, एक शनिबारमा अधिकतम ३ फ्लाइट गराउने योजना छ । नभए एक फ्लाइट हुन्छ,' पर्यटनकर्मी वरालले भने ।

माउण्टेन फ्लाइटबाट ८ हजार मिटर मािथका ४ वटा विश्वप्रसिद्ध हिमाल देख्न सकिन्छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ भने कञ्चनजंघा ८ हजार ५ सय ८६ मिटर, ल्होत्से ८ हजार ५ सय १६ र मकालु हिमाल ८ हजार ४ सय ८१ मिटर अग्लो छ । भारतको सिक्किम, दार्जिलिंगमा माउण्टेन फ्लाइट सुविधा नभएको र यहाँबाट जस्तो अग्लो हिमालहरु धेरै नदेखिने भएकोले त्यताका पर्यटकहरुलाई आकर्षण गर्न सकिने वरालको भनाई छ । 'वंगलीहरुमा हिमाल हेर्ने तीब्र चाहना हुन्छन्, वंगल र सिक्किममा प्रर्वद्धन भयो र यता तान्न सकियो भने ठुलो ढोका खुल्छ,' वराल भन्छन्, 'माउण्टेन फ्लाइट ७ बजे नै हुन्छ, त्यसको लागि एक रात विराटनगर बस्नुपर्छ । त्यहाँ बस्दा धरान, भेडेटार, धनकुटा घुम्न पनि आउछन् । यसले प्रदेशको पर्यटनमा ठुलो उपलब्धी हुन्छ ।'