संकटा र विभागीय टोली एपीएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सफलता हात पारेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको पहिलो खेलमा संकटाले जाउलाखेलाई २/० गोलले हरायो। एन्फामै भएको अर्को खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १/० गोलले पराजित गर्‍यो।लिगमा संकटाको यो लगातार दोस्रो जित हो। जितसँगै संकटाले ६ अंक बनाएको छ। लिगको आफ्नो पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १/० गोलले हराएको थियो। लगातार दुई खेल हारेको जाउलाखेलले खाता खोल्न सकेको छैन। लिगको आफ्नो पहिलो खेलमा जाउलाखेल नेपाल पुलिस क्लबसँग १/० गोलले पराजित भएको थियो। खेलको सुरुआतमै १० खेलाडीमा समेटिए पनि संकटाले जाउलाखेललाई नियन्त्रणमा राखेको थियो।

annapurnapost.com बाट साभार गरिएको