धरान : सोमबार आयोजक इपिएल प्राइभेट लिमिटेडले (एभरेस्ट प्रिमियर लिग) मंसिर २२ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ। दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सको सामना गर्नेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजको सामना गर्नेछ।

Related image 

पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स एक्सआई, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ । विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो। प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मान्यता दिएको थियो । विदेशी खेलाडीलाई समावेश गर्दै प्रतियोगिता आयोजना गर्नका लागि आइसिसीको मान्यता अनिवार्य हुन्छ । सोहीअनुसार आयोजकले विदेशी खेलाडी समावेश गर्नका लागि आइसिसीको मान्यता लिएको थियो।