उदयपुरः उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ५ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई प्रदेश १ कै उत्कृष्ट गन्तव्य बनाइने भएको छ ।

स्थानीय एवं सरोकारवालाहरुले धार्मिकस्थल रहेको रौतालाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयारीमा जुटेका छन् । गुरुयोजना बनाउन रौतामाई गाउँपालिकासँगै त्रियुगा नगरपालिका, लिमुचुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिका पनि साथसाथै जुटेको छ । रौता गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले प्राथमिकतामा राखेर अन्य स्थानीय तहहरुसँग समन्वय गरी काम अघि बढाइरहेको जानकारी दिए ।

रौताले सिंगा जिल्लाको धार्मिक तथा पर्यटकीयरुपमा प्रतिनिधित्व गर्ने भएकोले आफुहरु यसको विकास, संरक्षण र प्रर्वद्धनमा लागिपरेको गाउँपालिका अध्यक्ष खड्काको भनाई छ । गाउँपालिकाले गत आर्थिक वर्षमा ९ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट रौता पोखरीको विकास र प्रवद्र्धनको खाका समेट्ने गरी गुरुयोजना तयारीमा लगानी भएको यिथो ।

छिमेकी त्रियुगा नगरपालिकामा अवस्थित बेलदोभानदेखि रौतापोखरीसम्म साझेदारी गरेर केबलकार सञ्चालनकोबारेमा छलफल पनि भइरहेको छ । बेलदोभान–रौतापोखरी केबलकार विस्तारका लागि सम्भाब्यता अध्ययन पनि भइरहेको छ । गुरुयोजनाले रौतापोखरीको धार्मिक तथा पर्यटकीय महत्वलाई पुरानै अवस्थामा फर्काउने गाउँपालिकाको भनाई छ । रौता पोखरीको वर्णन बिष्णुपुराणमा पनि भएकोले जनविश्वास र आस्थाको केन्द्र बनेको छ ।