ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “मेची पुल निर्माण ,तीन सरकारी कार्यालयसहित २२ घर भत्काइँदै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ।
मेची पुल जोड्ने सडकमा परेका तीनओटा सरकारी कार्यालयसहित २२ घरलाई खाली गराउँदै सडक निर्माण शुरु गरिएको छ । नेपाल–भारत सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगपालिका –५ स्थित मेची नदीमा पुल निर्माण भएको ६ महिनापछि सडक बनाउन शुरु गरिएको हो । पुल जोड्ने सडकका लागि पहिलो चरणमा नेपालतर्फको मेची पुलदेखि शोभा श्रेष्ठको घरसम्म १ सय ६७ मिटर पर्छ । त्यस्तै नेपालतर्फ झापा चोकसम्म थप एक हजार २ सय ९० मिटर सडकमा ठेक्का लागिसके पनि मुआब्जा विवादका कारण अन्यौल छ । मुआब्जा दिइसकेको क्षेत्रमा हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले पहिलो चरणको सडक खाली गराउने काम शुरु गरेको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “एक वर्षमा ४ प्रमुख अधिकृत फेरिए, उपमहानगर अधिकृत विहीन, धरानमा प्रमुख अधिकृत सरुवा रोग” शीर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।
धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने रोगले दैनिक उपमहानगरपालिकाको काम कार्वाही प्रभावित हुँदै आएको छ । हाल पनि उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । जसका कारणले जनप्रतिनिधी भएर पनि उपमहानगरपालिकाको दैनिक काम कार्वाही हुन नसक्दा सेवाग्रही मारमा परेका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “धरानमा जाडो, युवालाई फेशन विपन्नलाई गाह्रो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरानमा केही सातादेखि चिसो बढेको छ । जाडो महिना सुरु भएसँगै धरानमा न्यानो रेडिमेट कपडा र सिरक डसनाको कारोबारमा बृद्धि भएको व्यापारीहरु बताउँछन् । गर्मीको तातो घामभन्दा चिसो मौसम अधिकाशंलाई प्रिय लाग्ने गरेको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “धनकुटामा एशियाली पहिलो एभाकोर्डो महोत्सव हुने ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
हालै मात्र धनकुटा नगरपालिकाले एभोकार्डोको राजधानी घोषण गरेको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकार्डो महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर धनकुटा नगरपालिकाले आगामी मंसिर ८ गते महोत्सवको आयोजना गर्ने जनाएको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “अन्तरघातीलाई कार्वाही गर्नुपर्छ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अन्तरघातीमुक्त बनाउनु पर्ने बताएका छन् । विराटनगरमा मंगलबार आयोजित कांग्रेसको राजनितिक प्रस्तावको मस्यौदा माथिको सुझाव संकलन कार्यक्रममा प्रमुख अतिथि बनेका देउवाले स्थानीय तहको निर्वाचनदेखि नै कांग्रेसमा अन्तरघात भएको बताए ।