धरान: भोगाधिकार पाएको जग्गा ३० बर्षको लागि निजी कम्पनीलाई लिजमा दिएपछि विवादमा तानिएको डिपो उच्चमाविले बिपी प्रतिष्ठान–डिपो बचाउ संघर्ष समितिलाई वार्ताको लागि पत्रचार गरेको छ ।

बिहिबारदेखि पहिलो चरणको संघर्षको कार्यक्रमहरु शुरु गर्न लागेको बचाउ समितिलाई डिपोले आज बुधबार एक पत्र पठाएर समितिलाई वार्तामा बोलाएको थियो । आजै ४ बजे वार्ताको लागि पत्र पठाए पनि वार्ता भने हुन सकेन । अकास्मक २ बजे पछि मात्र पत्र पाएको र आफुहरुले वार्ताको तयारी गर्न समय नपाएकोले आज वार्ता हुन नसकेको संघर्ष समितिका संयोजक एवं डा.विष्णु पोख्रेलले जानकारी दिए । उनले आफुहरु भोली बिहिबार २ बजे वार्तामा आउने जानकारी डिपोका प्राचार्यलाई गराएको पनि बताए ।

डा. पोख्रेलका अनुसार पत्रमा प्राचार्य राजकुमार राईको हस्ताक्षर छ । उनी डिपो सञ्चालक समितिका सदस्य सचिव पनि हुन् । ‘२ बजेपछि मात्र आजै ४ बजे वार्तामा आउन आग्रह गरिएको पत्र पायौं, आज तयारी गर्न ढिलाई भएकोले भोली २ बजे आउछौं भनेर जानकारी दियौं,’संयोजक डा.पोख्रेलले भने,‘वार्ताको पत्र आउनु सकरात्मक छौं, भोली जान्छौं ।’
डिपोले वार्ताको लागि पत्राचार गरेपनि बिहिबारको पुर्वघोषित संघर्षको कार्यक्रम भने नरोकिने संघर्ष समितिले जानकारी दिएको छ । समितिले बिहान ८ बजे बिपी प्रतिष्ठान र डिपो बचाउ, फनपार्क सारौं भन्ने नारासहित र्याली निकाल्ने तयारी गरेको छ । प्रतिष्ठानको कामकारबाहीलाई पनि ध्यान दिदै जिओपिडीबाट सांकेतिकरुपमा र्याली निस्कने र नगर परिक्रमा गरिने समितिले जनाएको छ ।

fun park copy

भोगाधिकार पाएको जग्गा निजी कम्पनीलाई लिजमा दिएको विरोधमा बिपी प्रतिष्ठानस्थित कर्मचारी, डाक्टर, विद्यार्थी, फ्याकल्टीलगायतको संगठनहरुले केही दिनअघि संघर्ष समिति गठन गरेका थिए । समितिले लिज सम्झौता अनुसार ३ बिघा जग्गामा होटल, रेष्टुरेष्ट, नर्सिङ होम, अत्याधुनिक पेट्रोल पम्प, रिसोर्ट, फन पार्कजस्ता संरचनाले नजिकैको डिपो स्कुल र बिपी प्रतिष्ठानलाई पनि दिर्घकालीन असर पर्ने भन्दै विरोधमा संघर्षका कार्यक्रमहरु तय गरिसकेको छ । समितिले फनपार्कलाई धरान १७ स्थित सप्तरंगी पार्कलगायत उपयुक्त स्थानमा स्थानान्तण गर्नुपर्ने माग गरिरहेको छ ।

बिपी प्रतिष्ठान र जिल्ला प्रशासनले डिपोले भोगाधिकार मात्र पाएको जग्गा अन्य प्रयोजनको लागि लिजमा दिन नहुने भन्दै फनपार्क निर्माणको काम रोकेपनि अदालतबाट स्टे अर्डर ल्याएर इजी राइजर बिजनेस ग्रुप प्रालिले काम गरिरहेको छ । तर, उसले फनपार्क निर्माणको लागि उपमहानगरपालिकाबाट इजाजत र नक्सापास लगायतको प्रक्रिया पनि पुरा नगरी निर्माण कार्य गरिरहेको छ ।