इनरुवा: सुनसरीको दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा वुधवार विहान अज्ञात समुहद्धारा फिदा हुसनेको गोली हानी हत्या गरेको विरोधमा भोली बिहिबार सुनसरी र मोरङ बन्दको घोषणा गरिएको छ ।

मृतक परिवारजन, मुस्लिम समुदाय तथा दुहबीका स्थानीयबासीले स्वतस्फुर्त बन्दको घोषणा गरेका हुन् । हत्याको विरोधमा बिहिबार सुनसरी र मोरङमा यातायात, शिक्षण संस्था, उद्योग,बजार लगायत बन्द हुुने दुहबी नगरपालिका मेयर बेदनारायण गच्छदारले जानकारी दिए । 'स्थानीयको मागलाई सरकारले चाडो पुरा गरोस् भन्ने माग हो', उनले भने ।

हत्याको विरोधमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती मार्फत प्रधानमन्त्री समक्ष मृतक परिवार र स्थानीयबासीले ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । उक्त ज्ञापनपत्रमा २४ घण्टाभित्र अपराधीलाइ पक्राउ गरी कानुनको दायराभित्र ल्याउनुपर्ने माग गरिएको छ । यस्तै, मृतक फिदा हुसैनलाई शहीद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षतिपूर्ति तुरन्त उपलब्ध गराउनुपर्ने, विद्युत प्राधिकरणमा नीजको स्थानमा छोरालाई तुरन्त जागिर लगाई दिनुपर्नेलगायत माग छ ।

बुधबार दिउँसोदेखि हजारौंको संख्यामा स्थानीयबासीहरुले दुहवीस्थित कोशी राजमार्गमा मृतक हुसेनको शव राखेर धर्ना र प्रर्दशन गरिरहेका छन् । माग पत्रअनुसार २४ घण्टाभित्रमा ज्ञापनपत्रमा उल्लेख भएको मागहरु सम्बोधन नभए थप आन्दोलन अघि बढाउने मृतकका दाजु मेहदी हुसैनले बताए ।