ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “दुई सयले धानेको मदरसा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सरकारी निकायको असहयोगका कारण उदयपुरको सबैभन्दा पुरानो मदरसा मुठ्ठीदानमा चलेको छ । मुस्लिम समुदाले मासिक २ सय रुपैयाँ दिएर त्रियुगा नगरपालिका १२ का तजविदुल कुरआन प्रावि चलिरहेको हो । सरकारले असहयोग कारण बाध्य भई मुठ्ठीदानबाट सञ्चालन गर्नु परिरहेको सञ्चालक बताउँछन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विद्युतको लाईनले विष्णुपादुका जोखिममा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
कोशी करिडोरका जलविद्युत आयोजनाहरु बाट उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोड्ने विजुलीको लाइन निर्माण थालिएपछि धरान–२० विष्णुपादुका क्षेत्रमा आवासीय विकासका सम्भावाना , पर्यटकीय योजनाहरु सबै जोखिममा परेको छ । हाल ताप्लेजुङ सम्म जलविद्युतहरु बाट उत्पादित विद्युत उक्त प्रसारण लाईन बाट सुनसरीको डूम्राहामा ग्रीड स्थापना गरी राष्ट्रिय प्रसारणमा जोड्ने योजना अनुसार उक्त विजुली लाईन निर्माण थालिएको हो ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “क्रान्तिपछि पुरानो सत्ता दश गुना बलियो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
आजभन्दा १२ वर्षअघि सम्पन्न शान्ति सम्झौताका दुई हस्ताक्षरकर्तामध्ये गिरिगाप्रसाद कोइराला हामीसँग छैनन्, प्रचण्डमात्र जीवीत छन् । आखिर, माओवादी कमाण्डर प्रचण्डले के सोचेर जनयुद्ध सञ्चालन गरेका थिए । अनि के सोचेर शान्ति सम्झौता आए ? अनि यतिबेला उनको दिमागमा के चलिरहेको छ ? शान्ति सम्झौता पश्चात १२ वर्षको अवधिमा नेपालमा सविधान बन्यो ? चुनाव पनि सफल भयो । पुर्वविद्रोही समेतको संलग्नतामा नेकपाको बहुमत प्राप्त सरकार बन्यो । के अब प्रचण्डले चाहेजस्तै क्रान्ति सफल भएको हो त ? के यी परिर्वतनहरु संस्थागत भएकै हुन्  ? देशको वर्तमान परिस्थितिलाई अहिले प्रचण्डले कसरी विश्लेषण गरिरहेका होलान् ?

 

 

 

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “स्व. सुब्बालाई सम्झियो मेयरकपले ”शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
धरान उपमहानगरपालिकाका मेयर स्व. तारा सुब्बाले धरानलाई खेलकुदको सहरको रुपमा अगाडी बढाउन भन्दै मेयरकप स्कुल ओलम्पिकको योजना ल्याएको भन्दै कार्यक्रममा बोल्ने सबै वत्ताले स्व. सुब्बालाई सम्झिए ।
प्रत्येक वर्ष स्कुल ओलम्पिकको आयोजना गरेर खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका सुब्बा पहिलो संस्करणको सफल आयोजना पश्चात दोस्रो संस्करण हुनु अगावै स्वर्गवास भए । स्वागत मन्तव्य राख्ने क्रममा कार्यवाहक मेयर मञ्जु भण्डारी भावुक बनेकी थिइन् । कार्यक्रम सुरु गर्नुभन्दा पहिले स्व. मेयर तारा सुब्बाको सम्झना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “खुर्सिद हत्याको कारण नखुल्दै हुसेनको हत्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सुनसरीको हरिनगर–२ भुटाहाका खुर्सिद आलम अन्सारीको हत्याको अनुसन्धान निचोडमा नपुग्दै सुनसरीमा अर्को व्यक्तिको हत्या भएको छ । खुर्सिदको गोली हानी हत्या भएको ६१ दिनपछि बुधबार दुहबी नगरपालिका ९ का ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको हो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “दमकमा भवनसंहिता कार्यान्वयन नभएको गुनासो ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दमकमा घर तथा भवनसंहिता अनुरुप निर्माण हुन नसकेको झापा दमकमा रहेका निर्माण क्षेत्रका मजदुर अगुवाहरुले खुलासा गरेका छन् । निर्माण मजदुरका क्षेत्रमा विभिन्न समस्या औल्याउँदै उनीहरुले नगरपालिकाभित्रैका कर्मचारी समेतको संलग्नतामा भवनसंहिता पूर्ण कार्यान्वयन हुन नसकिरहेको गुनासो गरेका छन् । उनीहरुले भवनसंहिताको पूर्ण कार्यान्वयन गराउन स्थानीय सरकारको भूमिका माथि प्रश्न उठिरहेको जिकिर गरे । मंगलबार दमकमा संयुक्त पत्रकार सम्मेलन गरेरै निर्माण क्षेत्रमा देखिएको समस्या समाधानका लागि स्थानीय सरकारले जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पनि आरोप लगाए । नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन, क्युपेक, जिफन्ट लगायतका मजदुरसँग सम्बन्धित संगठनका नेताहरुले श्रम बजारमा एकातिर मजदुरको अभाव देखिएको अर्कातिर रोजगारीको अभावमा मजदुरहरु पलायन भइरहेको समेत
औंल्याए ।