बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला नाइट्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

केरलाविरुद्ध पहिले ब्याटिङ गरेको पाख्तोन्सले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन जोड्यो। उसका लागि वेस्ट इन्डिजका आन्द्रे फ्रेचरले सबैभन्दा बढी ३२ रन जोडे। उनलाई केरलाका सन्दीपले इयान मोर्गानको हातबाट क्याच गराए। सन्दीपले कोलिन इन्ग्रामलाई पनि १ रनको झिनको स्कोरमा उपुल थाराङ्गाबाट क्याच गराए। यस्तै सन्दीपले मोहमद कलीमलाई पनि रन नै जोड्न नपाई केइरन पोलार्डको हातबाट क्याच गराए। सन्दीपले २ ओभरमा ३ विकेट लिन १७ रन खर्चिए।

१ सय १० रनको लक्ष्य केरलाले ७।५ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि क्रिस गेलले ७ बलमा १३ रन, पाउल स्टर्लिङले १४ बलमा ४० रन, इयान मोर्गानले २० बलमा नटआउट ४६ रन र केइनर पोलार्डले ६ बलमा नटआउट ११ रन जोडे। अब केरलाले बिहीबार सन्धिजसँग प्रतिस्पर्धा गर्नेछ।

"नेपाल लाइभबाट साभार गरीएको"