इनरुवा: सुनसरीको दुहबी नगरपालिका ९ का फिदा हुसेन हत्या प्रकरणमा आन्दोलनरत स्थानीय र प्रशासनबीच सहमति भएको छ ।

स्थानीयले पेश गरेको ५ मध्ये ४ वटा माग पुरा हुने भएपछि सहमति भएको सुनसरी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सीताराम मेहताले जानकारी दिए । गृहमन्त्रीको राजीनामा बाहेक स्थानीयबासीको अन्य सबै माग पुरा भएको पनि उनले बताए । सहमति भएपछि शवलाई पोष्टमार्टमको लागि धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी पनि भइरहेको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै मृतकका छोरालाई विद्युत प्राधिकरण, दुहबीमा रोजगार उपलब्ध गराउने सम्बन्धमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गरिएको उल्लेख छ भने मृतक फिदा हुसेनलाई शहीद घोषण गर्ने र परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख उपलब्ध गराउन मन्त्रीपरिषदमा प्रस्ताव पेश गरिएको पनि जनाएको छ । यस्तै, उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिने पनि उल्लेख छ ।

img032