तेह्रथुम: नेपाल बंगलादेश बैंक, केन्द्रीय कार्यालयले तेह्रथुमको सरस्वती मावि, ह्वाकुमा विज्ञान प्रयोगशाला स्थापना गरिदिएको छ ।

आठराई गाउँपालिका–३ स्थित सो विद्यालयलाई बैंकले चार लाख रुपैयाँ बढीका विज्ञान प्रयोगशालाका सामाग्री उपलब्ध गराएपछि प्रयोगशाला स्थापना भएको हो । विद्यालयलाई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख १२ हजार ५ सय ८४ रुपैयाँ बराबरका केमेस्ट्री, बायोलोजी सहित विज्ञान प्रयोगशालाका लागि आवश्यक उपकरणहरु उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक अकलबहादुर इङनामले जानकारी दिए ।

सो प्रयोगशालाको बिहीबार नेपाल राष्ट्र बैंकका वरिष्ठ डिपुटी गभर्नर चिन्तामणि सिवाकोटी र नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्तरुपमा उद्घाटन गरेका थिए । प्रयोगशाला स्थापनापछि विद्यालयमा कक्षा ९ देखि १२ सम्म विज्ञान विषयको पठनपाठन गराउन सकिने भएको छ । राष्ट्र बैंकका डिपुटी गभर्नर सिवाकोटी र एनबी बैंकका सिइओ ढुंगाना दुवैजना तेह्रथुममा जन्मिएका हुन् ।