धरान: धरान नगर खेलकुद विकास समितिद्धारा आयोजित दोस्रो मेयर स्कुल ओलम्पिक अन्तर्गत बिहिवारदेखि बास्केटवल प्रतियोगिता सुरु भएको छ ।

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन पुरुष तर्फ नवज्योति, लोटस, जुनियर पायोनियर, सियोन स्कुल र महिला तर्फ चिल्डेन एकेडेमी, युरेका, पर्वत र नवज्योति स्कुल विजयी भएको छ । पुरुषतर्फको पहिलो खेलमा नवज्योतिले सेन्ट जोसेफलाई ३९–५, लोटसले ल्यावोटरिलाई ३१–१२, जुनियर पायोनियरले विष्णुलाई ३१–४ अंकको अन्तरले पराजित गरेको थियो ।

महिलातर्फ चिल्डेन एकेडेमीले सुम्निमालाई ५–४, पर्वत स्कुलले लोटसलाई ९–० र नवज्योति स्कुलले जुनियर पायनियर स्कुललाई २२–६ अंकको अन्तरले पराजित गरेको छ ।
महिलातर्फ सारदा वालिका समयमा उपस्थित नभए पछि प्राविधिक टिमले युरेका स्कुललाई विजयी घोषित गरेको थियो । स्कुल ओलम्पिकमा बास्केटवलतर्फ १७ वटा महिला र २२ वटा पुरुष टिम गरी जम्मा २ सय २६ जना विद्यार्थीहरुले बास्केटवल खेलमा सहभागिता जनाएको छ । बास्केटवल प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटवल संघ रहेको छ । फाइनल खेल मंसिर ११ गते हुनेछ ।