धरान:दोस्रो मेयर स्कुल ओलम्पिक अन्तर्गत शुक्रवार भएको बास्केटवल खेलमा छात्रतर्फ सुम्निमा बोर्डिङ, युएन स्कुल, सुनाखरी एकेडेमी र आइडियल बोर्डिङ स्कुल विजयी भएको छ । छात्रातर्फ भने होलिल्याण्ड बोर्डिङ स्कुल, पदम मेमोरियल, डिपो उच्चमावि र आइडल स्कुल विजयी भएको छ ।

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा भएको खेलमा छात्रतर्फ सुनाखरीले नेपाल पुलिस स्कुललाई २०–२, आइडल स्कुलले चिल्र्डेन स्कुललाई १४–७ स्कयेरले हरायो । छात्रातर्फ होलिल्याण्डले दिल्ली पब्लिक स्कुललाई १०–४, पदम स्कुलले सुनाखरीलाई १४–४, डिपोले विष्णु स्कुललाई ६–३ र आइडलले सिओन स्कुललाई ६–४ अंकको अन्तरले पराजित गरेको छ ।

छात्र तर्फको खेलमा निकेतन स्कुल नआएपछि सुम्निमा स्कुलले वाकओभरको आधारमा विजेता बन्यो भने युनाइटेड स्कुल पनि नआएपछि युएन स्कुलले वाक ओभरको आधारमा जित हात पार्यो । शनिबार छात्रतर्फ डिपिएस र डिपो स्कुल, सैनिक र होलिल्याण्ड, नवज्योति र जुनियर पायोनियर, लोटस र केके इन्टरनेशसल, विजयपुर र कार्मेल स्कुल विच प्रतिश्पर्धा हुनेछ ।

यस्तै, छात्रातर्फ चिल्र्डेन स्कुल र प्रभात, युनाइटेड गोर्खा र आइडल, डिपो र होलिल्याण्ड स्कुल विच प्रतिश्पर्धा हुनेछ । छात्र र छात्रा गरी ३९ वटा टिमले सहभागिता जनाएको बास्केटवल खेलको फाइनल खेल मंसिर ११ गते हुने जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।