विराटनगर: बहुप्रतिक्षित माउण्टेन फ्लाइट शनिबारदेखि पुर्वी नेपाल अर्थात १ नम्बर प्रदेशबाट पनि शुरु भएको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहितको टोलीले शनिबार पहिलो उडान गर्दै माउण्टेन फ्लाइटबाट हिमश्रृंखलाहरुको अवलोकन गर्दै मजा लिए । टोलीमा मुख्यमन्त्री राईसँगै सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, वन पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियेत पनि थिए । विराट होलिडेजको नाममा शुरु भएको माउण्टेन फ्लाइटमा जम्मा २२ जना सवार थिए ।

पर्यटनकर्मीहरुका अनुसार अब नियमित रुपमा हरेक शनिवार माउण्टेन फ्लाईट हुनेछ । फ्लाईटले कन्चनजंघा, मकालु, सगरमाथा हुँदै गौरीशंकरसम्म पुगेर फर्केको थियो । बिराटनगरबाट करिब ५५ मिनेट यात्रा भएको थियो । मुख्यमन्त्री, प्रदेश सरकारका ३ जना मन्त्री, प्रदेशका प्रमुख सचिव, पर्यटन सचिवसहित ३ जना सचिव, पर्यटन ब्यवसायी र पत्रकारहरु पनि सहभागी थिए । मुख्यमन्त्री राईले माउण्टने फ्लाईटलाई निरन्तरता दिलाउन प्रदेश सरकारले सबै पक्ष, तहसँग समन्वय र सहकार्य गर्ने प्रतिक्रिया दिए ।

पर्यटन व्यावसायीहरुले प्रदेशका सबै बिमानस्थलहरुमा विराटनगरबाट उडान शुरु गर्न माग गरेका थिए । बिराट होलिडेजका अध्यक्ष भबिश श्रेष्ठले भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुको लुक्लालगायतका विमानस्थलमा बिराटनगरबाटै उडान गराउन प्रदेश सरकारसँग माग गरे । साथै, विराटनगर र पोखराबीचमा पनि उडान शुरु गरे पर्यटकहरुको ध्यान प्रदेश १ तिर मोडिने उनले बताए । aaaaUntitled-1 copy