तेह्रथुम:तेह्रथुममा सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र अभिभावकहरुले प्रतिवद्धता जनाएका छन् ।

सार्वजनिक शिक्षाको सुदृढिकरणका लागि भएको जिल्ला सम्मेलनमा सहभागी जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र अभिभावकहरुले शैक्षिक सुधारका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइसँगको सहकार्यमा देउराली सोसाइटी र दलित सचेतना समाज नेपालले आयोजना गरेको कार्यक्रममा स्थानीय तहका शैक्षिक अधिकारहरु, स्थानीयस्तरमा भएका शैक्षिक सुधारका प्रयासहरु, शैक्षिक सुधारका लागि स्थानीय तहको भूमिका, सामुदायिक विद्यालयको अवस्था, समस्या र सुधारका उपायहरु तथा प्रदेश सरकारले शैक्षिक सुधारका लागि गरिरहेका प्रयत्नहरुका विषयमा छलफल भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङले संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै शैक्षिक सुधारका लागि स्थानीय तहकै महत्वपुर्ण भूमिका हुने बताए । उनले शैक्षिक सुधारका लागि शिक्षक र अभिभावकहरुले आ–आफ्नो दायित्व बोध हुनुपर्ने बताए । कार्यक्रममा म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाहाम्फे, छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बु, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, फेदाप गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापा लगायत जनप्रतिनिधिहरुले शैक्षिक सुधारका लागि पहल गर्ने प्रतिवद्धता जनाए । सहभागी प्रधानाध्यापक र श्रोतव्यक्तिहरुले शैक्षिक सुधारका लागि अभिभावकहरुको सामुदायिक विद्यालय प्रतिको सोच बदल्न कोशिस गर्नुपर्ने धारणा राखे ।