आर्जेन्टिनाको इतिहासकै एक सबभन्दा महत्त्वपूर्ण भनिएको क्लब फुटबल खेल हिँसाका कारण पछि सारिएको अधिकारीहरूले बताएका छन्। बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि कोपा लिबरटेडरेस को फाइनल खेल सारिएको छ। दक्षिण अमेरिकाको एकदमै महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको उक्त खेल अगाडि भएको सो हिँसाका कारण कैयौँ खेलाडी घाइते भएका थिए। दक्षिण अमेरिकी क्लब प्रतियोगिताको उक्त फाइनल खेल आर्जेन्टिनाको राजधानी ब्युनस आइरिजका दुई प्रतिद्वन्द्वी टोली बोका जुनियर्स तथा रिभर प्लेटबीच हुन लागेको थियो। 

हमला कसरी?

तर रिभर प्लेटका समर्थकहरूले बोका जुनियर्सका खेलाडी चढेको बसमा हमला गरे। भिडिओ फुटेजमा तिनले ढुङ्गा तथा ग्यास क्यानिस्टरले प्रहार गरेको देखिन्छ। बोका जुनियर्सका केही खेलाडीलाई फुटेका सिसाले घाउ लागेको थियो भने केहीचाहिँ प्रहरीले प्रयोग गरेको अश्रुग्यासबाट प्रभावित भए। बोका जुनियर्सका खेलाडी तथा म्यान्चेस्टर सिटी क्लबका पूर्व स्ट्राइकर कार्लोस टेभेजलाई हमलापछि रिँगटा लागेको तथा बान्ता भएको थियो। कप्तान पाब्लो पेरेज पनि घाइते भए। यस्तो अवस्थामा दुवै टोलीका खेलाडी खेल्ने स्थिति नरहेको भन्दै दक्षिण अमेरिकी फुटबल महासंघका प्रमुख आलेहान्द्रो डोमिँगेजले फुटबल मनोरञ्जन न कि युद्ध भएको बताए। अब उक्त खेल पहिले तोकिएभन्दा एकदिन पछि आइतवार खेलाइनेछ।

 

"बी.बी.सी नेपालबाट साभार गरिएको"