पथरी: रेडस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरे २ मोरंगले अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ ।

पथरीशनिश्चरे क्रिकेट क्लबले आयोजना गरेको नगरस्तरीय प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा स्थानीय अरुणोदय आवासीय माविलाई हराउदै रेडस्टारले उपाधि जितेको हो । तीनदिने उक्त प्रतियोगिताको म्यान अफ दि म्याच, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानमा रेडस्टारकै क्रमशः विनायक लिम्बू, सन्देश रेग्मी र अनिश विक घोषित भए । यस्तै म्यान अफ दि सिरिजमा अरुणोदयका कृष्ण राई र इमर्जिंग प्लेयरमा एभरेस्ट स्कुलका प्रदीप लामिछाने घोषित भए ।

एक दर्जन विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा रेडस्टारले उद्घाटन खेलमा न्यु पेगोडा आवासीय माविलाई, दोस्रो खेलमा जनता माविलाई र तेस्रो खेलमा एभरेस्ट माविलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको विद्यालयका निर्देशक टि.एन. तिम्सिनाले जानकारी दिए । ती खेलहरुमा रेडस्टारकै विनायक लिम्बू, सन्देश रेग्मी र देव राई म्यान अफ दि म्याच घोषित भएका थिए ।पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बाँस्तोलाको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई आयोजक क्लबका अध्यक्ष अरुण राईलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।