ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “तेह्रथुमको आठराईमा खानेपानीको चरम अभाव” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
तेह्रथुमको आठराई गाँउपालिका ५ छातेढुङ्गाका बस्तीहरुमा पानीका मुहान सुक्दा खानेपानीको चरम अभाव शुरु भएको छ । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव भएको हो । स्थानीय बासिन्दाले प्रयोग गर्ने खानेपानी मुहानमा अहिले पानी सुक्न थालेपछि स्थानीय बासिन्दाले पानीका लागि घण्टौं समय लगाउनु पर्ने बाध्यता छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “एउटै गाँउमा ४० हजार टन चिया प्रशोधन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । चियका लागि प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रुपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् । किसान आफैं उद्यमी बन्दा उचित मूल्य र परिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विजयपुर दरबारस्थल विवाद टुङ्ग्याउन जोड ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छाापेको छ । धरान खानेपानी आयोजना अनुसार विजयपुर स्थित किरातकालीन ऐतिहासिक दरबारस्थलमा खानेपानी ट्याङकी निर्माण गनै थालिएपछि उत्पन्न विवाद चाँडो टुङगाउनु पर्नेमा सोमबार आदिबासी किरात समुदायको ऐतिहासिकस्थल विजयपुर दरवार विषयक अन्र्तरक्रियामा सहभागीहरुले जोड दिएका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “श्रमिक महिला भन्छन् : मजदुरी गर्नु हाम्रो बाध्यता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान–१४ की दिलकुमारी लिम्वू दैनिक ज्यालादारी मजदुरी गर्छिन । विहान उठेर दैनिक ८ घण्टा ज्यालादारी गर्नु उनको पहिलो बाध्यता हो । कुनै मजदुरी गर्न जान सकिनन् भने स–साना छोराछोरी भोकै हुन्छन् । देशैभर निकै तामझामसाथ लैगिक हिंसा विरुद्धको अभियान मनाईरहँदा उनी अभियानको बारेमा अनभिज्ञता प्रटक गर्छिन ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “डिजेल चोरी प्रकरण अनुसन्धान लम्बिँदा चलखेलको आशंका ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बरौनीस्थित इण्डियन आयल कर्पेरेशन आईओसी बाट विराटनगरस्थित नेपाल आयल निगम एनओसी को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी भएको प्रकरणमा अनुसन्धान लम्बिदैं जाँदा अनुसन्धानको प्रक्रियामाथि आशंका व्यक्त हुन थालेको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “काँकरभिट्टालाई नाटकको सहर बनाउने अभियान” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मुलुकको पूर्वी प्रवेशद्वार पुग्ने जो कोहीले सहरका भित्ताभित्तामा अनेकौँ चित्र देख्न सक्छन् । यो देही आर्टका कलाकारको मेहनत हो । काँकरभिट्टा विगतमा ‘तस्करीको सहर’ को नामले बदनाम थियो । अब भने देही आर्टले त्यो छविलाई बिर्साउँदै गएको छ । मुलुक छिर्ने यो दैलोलाई देही आर्टले कलामार्फत चिनारी फेरिरहेको छ । ‘काँकरभिट्टालाई कला, साहित्यसँगै नाटकको सहर बनाउने अभियान हो हाम्रो’, देही आर्टका संस्थापक छितेन शेर्पाले सुनाए, ‘काँकरभिट्टाले अब बदनामी होइन, स्याबासी कमाउनुपर्छ ।’ काँकरभिट्टाका रैथाने छितेनको पेसा चित्र बनाउने थिएन । उनी आइटी क्षेत्रमा थिए । कमाइ पनि राम्रै थियो । तर, चित्रकार बन्ने सानैदेखिको हुटहुटीले यिनलाई अरू पेसामा अल्झनै दिएन ।