तेह्रथुम: आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि तेह्रथुमबाट करिब एक सय ५० जना खेलाडी छनौट हुने भएका छन् ।

प्रतियोगितामा जिल्लाबाट विभिन्न १५ वटा खेलका लागि डेढ सय बढी खेलाडीहरु छनौटको तयारी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताए । जिल्लाबाट क्षेत्रिय तथा प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी गराउन मंसिर १४ गतेबाट २० गतेसम्म छनौट प्रतियोगिताको तयारी गरिएको हो । यसपटक तेह्रथुमले पनि फुटबल, भलिबल सहितका १५ वटा खेलमा सहभागिता जनाउन पाउने भएको छ ।

फुटबल र एथ्लेटिक्सको खेलाडी छनौट प्रतियोगिता जिरिखिम्तीमा, तेक्वान्दोको छातेढंगामा र बाँकी सबै खेलको म्याङलुङबजारमा खेलाडी छनौट प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टराईले बताए । जिल्लाले यसपटक फुटबल, भलिबल, व्याडमिन्टन, एथ्लेटिक्स, व्याडमिन्टन, बक्सिङ, टेवलटेनिस, तेक्वान्दो, कराँते, कबड्डी, उस्सु, बुद्धिचाल लगायतका खेलहरुमा सहभागिता जनाउने छ । प्रदेशको छनौट प्रतियोगितामा सहभागिताका लागि करिब २ सय जनाको टोली जाने समितिले जनाएको छ ।

छनौट प्रतियोगिताका लागि तेह्रथुमबाट एथ्लेटिक्समा महिला ९ जना, पुरुष १७ जना, कबड्डीमा महिला ११ जना, पुरुष १६ जना, भलिबलमा पुरुष १८ जना, महिला ९ जना, तेक्वान्दोमा पुरुष १० जना, महिला ५ जना, व्याडमिन्टनमा महिला ३ जना, पुरुष ६ जना, फुटबलतर्फ पुरुष ६६ जना र महिला ११ जनाले आवेदन गरेका छन् ।
यस्तै कराँते महिला २० जना, पुरुष २१ जना, बक्सिङतर्फ महिला/पुरुष २–२ जना, बुद्धिचाल र उसुतर्फ महिला/पुरुष २–२ जनाले आवेदन गरेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष भट्टराईले छनौट प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्रह समेत गरेका छन् ।