धरान: डिपो उच्चमाविको व्यवस्थापन समिति र बिपी प्रतिष्ठान–डिपो बचाऔं संघर्ष समितिबीच सहमति भएको छ ।

डिपो व्यवस्थापन समितिले बोलाएको वार्तामा मंगलबार २ बुँदे सहमति भएको हो । डिपो स्कुलमा भएको वार्तामा दुवै पक्षबाट ३–३ जना सदस्य रहेको वार्ता समिति गठन गर्ने र समस्याको हल खोजी गर्ने सहमति भएको संघर्ष समितिका सचिव सुजेन्द्र तामाङले जानकारी दिए । यस्तै, दुवै पक्षले तत्काललाई फनपार्क निर्माण कार्य रोक्ने र संघर्षको कार्यक्रमहरु पनि रोक्ने सहमति गरेका छन् ।

सचिव तामाङका अनुसार दुवै पक्ष सहमतिलाई पालना गर्न प्रतिवद्ध रहेको छ । साथै, समस्यालाई उपयुक्त निकास दिन वार्ता समितिमार्फत पहल हुने पनि उनले बताए । ‘सहमति अनुसार उहाँहरुले फनपार्क निर्माण कार्य रोक्ने र हामी पनि संघर्षको कार्यक्रम रोकेर उपयुक्त निकास खोज्ने भन्ने सहमति हो,’उनले भने । डिपोका प्रिन्सिपल एवं सदस्य सचिव राजकुमार राईले पनि वार्ता सौहार्दपुर्णरुपमा भएको र छलफलबाट नै समस्या समाधान गर्ने दुवै पक्षमा एकमत भएको बताए ।

46752662_363969554373380_8030319878252527616_n copy

बिपी प्रतिष्ठानको स्वामित्वमा भएको जग्गा नेपाल सरकारबाट भोगाधिकार मात्र पाएको डिपोले ३० बर्षे लिजमा इजी राइडर्स ग्रुप बिजनेश प्रालिलाई दिएपछि विरोध हुदै आएको छ । डिपोले लिजमा दिएको ३ बिघा जग्गामा इजी राइडर्सले फनपार्क बनाउन थालेपछि त्यसले विद्यालय क्षेत्र र अस्पताललाई पनि दीर्घकालिन असर पर्ने भन्दै प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारी, विद्यार्थीहरुले बिपी डिपो बचाऔ संघर्ष समिति गठन गर्दै संघर्षको कार्यक्रमहरु शुरु गरेको थियो ।

46800211_2142388006022495_2054468400263987200_n copy