धरान: डिपो उच्च माविले इजी राइडर्स बिजनेश ग्रुप प्रालिलाई लिजमा मात्र ३ बिघा जग्गा दिएको भने पनि पुर्जामा भने १० बिघा भन्दा बढी जग्गाको भोगाधिकार दिएको पाइएको छ ।

डिपो आफैलाई सरकारले भोगाधिकार मात्र भनेर दिएको जग्गाको लालपुर्जाको एउटा कित्ताको जग्गा सबै इजी राइडर्सलाई भोगाधिकार दिएको पाइएको हो । स्रोतले उपलब्ध गराएको डिपोको पुर्जामा गएको भदौ १५ गते मालपोत कार्यालय धरानले भोगाधिकार इजी राइडर्समा गएको लेखेको छ ।

त्यही दिन मालपोतमा डिपो र इजी राइडर्सबीच ३० बर्षे लिजको लिखत करारनामा प्रमाणित भएको थियो । करारनामाको लिखत पारित भएकै मितिमा पुर्जामा भने कित्ता नं १२ को सबै जग्गामा इजी राइडर्सको भोगाधिकार रहेको उल्लेख छ । डिपोको यो कित्तामा १० बिघा १५ कट्ठा ६ धुर जग्गा छ ।

स्रोतका अनुसार मालपोतका कर्मचारीसँगको मिलेमतोमा डिपोको जग्गा हड्प्ने खेल भएको हो । मालपोतका नायब सुब्बा टिकाराम कटवालले लिखत करारनामा प्रमाणित गरेका थिए भने उनैले डिपोको पुर्जामा इजी राइडर्सको भोगाधिकार हुने लेखिदिएका हुन् । ‘यो त हुनै नसक्ने काम भएको छ । रामलाई श्याम, श्यामलाई राम बनाएको जस्तै भयो,’ स्रोत भन्छ,‘डिपोको सबै जग्गा हडप्ने ठुलो खेल हो ।’

मालपोत कार्यालय धरानले भने डिपो र इजी राइडर्सबीच करारनामा भएकोले सोही अनुसार मात्र लेख्नुपर्ने भन्दै भोगाधिकार लेखिएको भए गल्ती भएको बताएको छ । कार्यालय प्रमुख दिलसेर राईले लिखत अघिल्लो कार्यालय प्रमुख यज्ञ भण्डारीको पालामा भएकोले धेरै बिषयमा थाह नभएकोले उनैसँग वा सम्बन्धित कर्मचारीसँग बुझ्न आग्रह गरे ।

नायब सुब्बा कटवालले भने भुलवश आफुले झुक्किएर लेखिदिएको हुनसक्ने बताए । ‘करारनामा नै लेख्नुपर्ने, भोगाधिकार भएछ । तर, स्रेस्तामा करारनामा नै लेखिएको छ, त्यसैले समस्या हुदैन,’उनले भने ।

डिपो व्यवस्थापन समितिका सदस्य सचिवसमेत रहेका प्रिन्सिपल राजकुमार राईले पनि यो बिषयमा अनभिज्ञता प्रकट गर्दै मालपोतमा गएर बुझ्ने बताए । आफुहरुले करारनामा मात्र गरेको र भोगाधिकार दिने अधिकारै नभएको उनले बताए । ‘फर्जी काम भएको पनि हुनसक्छ, भोली मालपोत गएर बुझ्छौं,’उनले भने ।

इजी राइडर्सका अध्यक्ष लोक खापुङले यो बिषयमा आफुलाई केही थाह नभएको बताए भने निर्देशक मणिराज राईले पनि डिपोको पुर्जामा के छ, छैन थाह नहुने बताए । ‘म डिपोको मान्छे परिन्, के लेखेको छ थाह हुने कुरा पनि भएन,’उनले भने ।