ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “अझै इन्धन चोरीको कारण पत्ता लागेन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारतको बरौनीबाट डिजेल भरेर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर आएको ट्याङरबाट २५ सय लिटर इन्धन चारी भएको विषयमा अनुसन्धान गर्न केन्द्रबाट आएको टोलीले पाँच दिन बित्दा पनि अझै कारण पत्ता लागाउन सकेको छैन । नेपाल आयल निगमको केन्द्रिय कार्यालयबाट उपनिर्देशक अञ्जना पोखरेलसहित इञ्जिनियर प्रमेश पुडासैली र सहायक प्रबन्धक राजकुमार केसीको टोलीले शुक्रबारदेखि अनुसन्धान गरे पनि ठोस कारण पत्ता लगाउन नसकेको हो ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “मापसे जाँच गर्दा झडप” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
मादक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने विरुद्ध परीक्षा सञ्चालन गरिरहेको मोरङ प्रहरीको मापसे जाँच टोली र स्थानीयबीच झडप भएको छ । कटहरी गाँउपालिका १ महेशपुरमा मापसे जाँच गर्ने क्रममा प्रहरी र स्थानीयवासी बीच झडप भएको हो । तर स्थानीयले भने सडकमा बसिरहेका बेला प्रहरीले दुब्र्यवहार गरेको बताँउछन् । सामान्य विवादमा घर–घर पसेर महिलामाथि पनि कुटपटि गरेको कटहरी गाँउपालिका १ का वडाध्यक्ष कपुरलाल माझीले जानकारी दिए ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “मेयर आफै विद्यालयको शैक्षिकस्तर जाँच्दै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  संघीयता संगै विद्यालयीय शिक्षा सञ्चालनको दायीत्व स्थानीय सरकारमा आएको छ । नगर, उपमहानगरपालिकाको मतहत आएपछि स्थानीय ऐन, कानुन सहित विद्यालयहरुको गिर्दो शैक्षिक स्तरलाई व्यवहारिक रुपमा कसरी अनुगमन गर्न सकिन्छ भन्ने उदाहरण इटहरीका नगर प्रमुख व्दारिकलाल चौधरीले देखाएका छन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “खारेजीमा परेको यातायात सिण्डिकेटका कर्मचारी अन्यायमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेपनि दायित्व बोधमा ख्याल नगर्दा बषौदेखी काम गर्दै आएका कर्मचारीहरु अन्यायमा परेका छन् । सरकारले गत साउनदेखी यातायात क्षेत्रमा रहेका बिभिन्न सिण्डिकेटहरु खारेज गरेपनि सम्पत्ती र कामदार कर्मचारीहरुको दायित्व बोधमा ख्याल नगर्दा बिराटनगर स्थित पुर्व नेपाल यातायात व्यवसायी संघमा आवद्ध बषौदेखी काम गर्दै आएका ५६ जना कर्मचारीहरु अन्यायमा परिरहेका हुन् ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले“विकासका लागि उत्कृष्ट मोडल सहकारी : इजरायली राजदूत” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपालका लागि इजरायलका राजदूत बेनी ओमारले दीर्घकालीन विकासका लागि ‘सहकारी मोडल’ उत्कृष्ट मोडल भएको बताएका छन् । साना किसान कृषि सहकारी संस्थाहरुले कृषि क्षेत्रमा गरेका क्रियाकलाप बुझ्न नेपालको पूर्वी क्षेत्र भ्रमणका क्रममा मंगलबार झापा आएका राजदूत ओमारले नेपालमा कृषिमा आधुनिकीकरण र लगानीबाटै समृद्धि हासिल हुनसक्ने बताए । झापाको भद्रपुर–१ पृथ्वीनगरस्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको एक संक्षिप्त समारोहमा राजदूत ओमारले त्यस्तो बताएका हुन् । उनले आफ्नो देशको उदाहरण दिँदै इजरायलले सहकारीमार्फत कृषि क्षेत्रमा गरेको लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त गरेको उल्लेख गर्दै नेपालले पनि सहकारी मोडललाई कृषिमा प्रतिफलमुखी तुल्याउने गरी अघि बढाउन सुझाव दिए ।