अमेरिकाले क्राइमियाको प्रायद्वीपलाई लिएर युक्रेन र रुसबीच जारी द्वन्द्वमा युक्रेनलाई साथ दिन युरोपेली देशहरूलाई थप काम गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाइनु पर्ने बताएका छन्। अर्कोतिर रुसी सुरक्षा निकायले क्राइमियाको समुद्री क्षेत्रमा रहेका युक्रेनी नौसैनिक डुङ्गामा आक्रमण गरी नियन्त्रणमा लिइएका तीन जना युक्रेनी नाविकहरूको वक्तव्य सार्वजनिक गरेका छन्। रुसले वक्तव्य दिन लगाएका एक युक्रेनी नौसैनिक सदस्यले आफूहरूको गतिविधि उक्साउने प्रकृतिको रहेको स्विकारेका छन्। युक्रेनी नौसैनिक कमान्डरले भने उनीहरूलाई रुसले दबाव दिएर झूट बोल्न बाध्य पारिएको बताएका छन्। यहीबेला क्राइमियाको अदालतले आइतबार नियन्त्रणमा लिइएका २४ मध्ये १२ युक्रेनीलाई ६० दिनसम्म थुनामै राख्न आदेश दिएको छ। बाँकी युक्रेनीहरूबारे बुधवार निर्णय गरिने अपेक्षा गरिएको छ।

bbc.com/nepali बाट साभार गरिएको