सुनसरी: करिब डेढ बर्ष अघिदेखि कोशी राजमार्गमा पर्ने इटहरी ९ स्थित विराटनगर लाइनमा सविन दाहालले एक्टिभ मनि ट्रान्सफर सञ्चालनमा ल्याएका थिए ।

मुख्य राजमार्गमा नै अफिस रहेको र नजिकै प्रहरी विट पनि भएकोले उनी आफ्नो व्यावसायमा ढुक्का थिए । अफिसमा सेवाग्राही आउनु र रकम झिकेर लैजानु दैनिकी थियो । बुधबार दिउँसो पनि सधै झैं एक व्यक्ति अफिसभित्र छिरे । ती व्यक्तिले मास्क लगाएका थिए भने विन्डप्रुफ ज्याकेट र ज्याकेटकै टोपीले टाउको ढाकेका थिए । व्यावसायी दाहालले केही भवितव्य होला भन्ने एक मनमा पनि लिएनन् । ‘पैसा झिक्न आएको भन्यो । मैले पनि नम्बर दिनुस् न मात्र के भनेको थिएँ, हत्तपत्त ढोका लगाएर छुरा पो झिक्यो,’बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेका दाहालले भने,‘म गुहार गुहार भन्दै कराउन थाले, उसले छुरा हानिहाल्यो ।’

पहिलो पटक प्रहार गरेको छुरा उनले दाहिने हातले समातेका थिए । त्यसले उनको दाहिने हातको बुढीऔलामा चोट लाग्यो । उनी चिच्याउदै कराउन थालेपछि फेरी ती लुटेराले छातीमा प्रहार गर्यो । दोस्रो पटक भने उनको देब्रे छातीमा छुराले लाग्यो । उनले गुहार मागेको सुनेर नजिकैको मेडिकलबाट मानिसहरु उनी भएतिर आए । त्यसैबेला लुटेराले आफ्नो पैसा पनि बोकेर भागेको दाहालको भनाई छ । ‘साढे ३ लाख जति पैसा थियो, त्यो सबै लिएर भाग्यो,’घाइते दाहालले भने,‘भित्र त्यो मान्छे एक्लै छिरेको थियो, तर बाहिर ढोकामा एक जना अर्को पनि थियो रे ।’

प्रत्यक्षदर्शी स्थानीयका अनुसार लुटेराहरु २ जना पैदल नै आएका थिए । घटनालगत्तै उनीहरु पैदल नै दुई दिशातर्फ भागेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले लुटेरा समुहको खोजी कार्य तीब्ररुपमा भइरहेको प्रतिक्रिया दिए ।